images
images
  • ६ वाणिज्य बैंक घाटामा

    काठमाडौं– आर्थिक वर्ष २०८२–८३ को साउनदेखि चैतसम्म वाणिज्य बैंकहरूको समग्र नाफा १२.२९ प्रतिशतले बढेर ४९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा नाफा ४३ अर्ब ७४ करोड रुपैयाँ थियो।

    नाफा बढ्नुको मुख्य कारण निष्क्रिय कर्जाको प्रावधान रकम घट्नु, खुद ब्याज आम्दानीमा सामान्य वृद्धि हुनु र अन्य आम्दानीमा सुधार हुनु हो। तर ६ वटा बैंकको नाफा भने ४ देखि ५५ प्रतिशतसम्म घटेको छ, जसमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै ५५ प्रतिशतले घटेको छ।

    दोस्रो त्रैमासमा देखिएको कमजोर प्रदर्शनको तुलनामा तेस्रो त्रैमासमा सुधार देखिए पनि सबै बैंक समान रूपमा लाभमा छैनन्। प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, एनआईसी एसिया, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ।

    राष्ट्रिय वाणिज्य बैंकले भने उल्लेखनीय सुधार गर्दै नाफा १३० प्रतिशतले बढाएर २ अर्ब ७६ करोड रुपैयाँ पुर्‍याएको छ। नबिल बैंक नाफाको हिसाबले अग्रस्थानमा रहँदै ६ अर्ब ७६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

    बैंकहरूको निष्क्रिय कर्जा औसत ४.९८ प्रतिशतबाट बढेर ५.२५ प्रतिशत पुगेको छ। पाँच बैंकको निष्क्रिय कर्जा ७ प्रतिशतभन्दा माथि पुगेको छ, जसले सम्पत्ति गुणस्तरमा दबाब देखाउँछ।

    खुद ब्याज आम्दानी केवल २ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। केही बैंकको आम्दानी घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको आम्दानी २३ प्रतिशतले बढेको छ। एनआईसी एसिया बैंकको खुद ब्याज आम्दानी भने २१ प्रतिशतभन्दा बढीले घटेको छ।

    समग्रमा ५ बैंकले लाभांश वितरण गर्न नसक्ने अवस्था छ भने केही बैंकले २० प्रतिशतभन्दा बढी लाभांश दिने क्षमता देखाएका छन्। औसत प्रतिसेयर आम्दानी १७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १४.५३ रुपैयाँभन्दा सुधार हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images