काठमाडौं– पाकिस्तानले इरानका लागि ग्वादर र कराचीसहितका प्रमुख बन्दरगाह तथा करिडोरहरू खुला गर्ने निर्णय गरेको छ ।
वाणिज्य मन्त्रालयले जारी गरेको ‘ट्रान्जिट अफ गुड्स थ्रु पाकिस्तान (२०२६)’ आदेशमार्फत इरानी वस्तुहरूको तेस्रो देशसँगको व्यापार सहज बनाउन ६ वटा प्रमुख करिडोर तोकिएका छन् ।
यी मार्गमार्फत इरानले अब पाकिस्तान हुँदै आयात–निर्यात गर्न सक्नेछ ।
हाल स्ट्रेट अफ होर्मुजमा देखिएको तनाव र अमेरिकी नाकाबन्दीका कारण इरानको वैदेशिक व्यापार प्रभावित भएको अवस्थामा पाकिस्तानको यो कदम आएको हो ।
निर्णयअनुसार ग्वादर, कराची–पोर्ट कासिम, तफ्तानलगायत मार्गलाई ट्रान्जिट करिडोरका रूपमा प्रयोग गरिनेछ ।
पाकिस्तान–इरान ९०९ किलोमिटर लामो सीमामा रहेका विभिन्न नाकामार्फत सामान आवागमनलाई थप व्यवस्थित बनाइने जनाइएको छ।
विश्लेषकहरूका अनुसार, यो कदमले पाकिस्तानलाई क्षेत्रीय व्यापारिक हबका रूपमा स्थापित गर्ने अवसर दिनेछ भने इरानसँगको विश्वास पनि मजबुत बनाउनेछ ।
साथै, पाकिस्तानले ट्रान्जिट शुल्कमार्फत आर्थिक लाभ लिने अपेक्षा गरिएको छ ।
अफगानिस्तानपछि इरानलाई पनि ट्रान्जिट सुविधा दिएसँगै पाकिस्तानले मध्य एसियासम्म व्यापार विस्तार गर्ने रणनीति अघि सारेको देखिन्छ ।
यस निर्णयपछि ग्वादर र कराची बन्दरगाहमा व्यापारिक गतिविधि थप बढ्ने अनुमान गरिएको छ ।


विश्व खबर 




















