काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ मा निर्वाचित सांसद जगदीश खरेललाई प्रधानमन्त्री बालेन्द्र शाहले सञ्चारमन्त्री नबनाउनुका पछाडि गम्भीर कारण रहेको खुलासा भएको छ ।
कर छली लगायत विभिन्न विवादमा मुछिएको दूरसञ्चार कम्पनीसँग सम्बन्ध जोडिएको आशंका भएपछि उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री तयार नभएको स्रोतको दाबी छ । यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा खरेलले सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
पत्रकारिता पृष्ठभूमिका खरेल मन्त्री रहँदा दक्षिण कोरिया भ्रमणमा गएका थिए । कात्तिक २६ गते राजधानी सिओलमा आयोजित ११औं ग्लोबल ICT लिडरसिप फोरममा सहभागी हुने क्रममा उनले त्यहाँ सतिशलाल आचार्यसँग गोप्य भेटवार्ता गरेको स्रोतको भनाइ छ ।
मलेसियन कम्पनी आजियाटाले नेपालस्थित दूरसञ्चार सेवा प्रदायक Ncell मा रहेको आफ्नो स्वामित्व बिक्रीका लागि स्पेक्ट्रलाइट यूकेसँग सम्झौता गरेको विषयले त्यसबेला व्यापक चर्चा पाएको थियो ।
सार्वजनिक लेखा समितिले उक्त शेयर खरिद–बिक्री प्रक्रिया रोक्न निर्देशन दिएको थियो । सोही सन्दर्भमा खरेलले सरकारी खर्चमा दक्षिण कोरिया पुगेर आचार्यसँग भेट गरेको स्रोतले दाबी गरेको छ । भेटको मुख्य उद्देश्य ‘शेयर प्रतिवेदन’ सम्बन्धी विषय रहेको बताइएको छ ।
शेयर विवादपछि सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । अध्ययनका क्रममा समितिले शेयर खरिद–बिक्री प्रक्रियामा गम्भीर अपारदर्शिता र अनियमितता फेला पारेको निष्कर्ष निकालेको थियो ।
प्रतिवेदनमा नियामक निकायबाट पूर्वस्वीकृति नलिई गरिएको शेयर खरिद–बिक्रीलाई अवैध ठहर गरिएको थियो । साथै खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानी स्रोत, र व्यवसायिक पृष्ठभूमि समेत अध्ययन गरेर मात्रै निर्णय लिनुपर्ने सुझाव दिइएको थियो ।
समितिले आफ्नो प्रतिवेदन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई बुझाएको थियो । स्रोतका अनुसार सोही प्रतिवेदनलाई वैधता दिलाउने उद्देश्यले आचार्य र खरेलबीच दक्षिण कोरियामा छलफल भएको थियो ।
नेपाल फर्किएपछि खरेलले उक्त कामलाई अघि बढाउने प्रयास गरेका थिए । उनले उम्मेदवारी दर्ताभन्दा अघिल्लो दिन मात्र मन्त्री पदबाट राजीनामा दिएका थिए र अन्तिम समयसम्म प्रयास जारी राखेको स्रोतको दाबी छ ।
स्रोतले खरेलको चुनाव खर्च समेत एनसेलसँग सम्बन्धित पक्षले व्यहोरेको आरोप लगाएको छ । यही कारणले उनी पुनः सञ्चारमन्त्री बन्ने प्रयासमा थिए भन्ने दाबी पनि गरिएको छ ।
तर, प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष यी विषयहरू पुगेपछि उनलाई पुनः सञ्चारमन्त्री नबनाउने निर्णय लिइएको स्रोत बताउँछ । मन्त्री बन्न उनले जोड गरे पनि सफल हुन सकेनन् ।
यसैबीच रास्वपाकै सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद अमरेशकुमार सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ वा गृह मन्त्रालय रोजेका थिए । तर, आफ्नो रोजाइँ अनुसार मन्त्रालय नपाएपछि उनले बालेन नेतृत्वको सरकारले प्रस्ताव गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्वीकार गर्न अस्वीकार गरेको बताइएको छ ।






















