काठमाडौं– नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ पहल तीव्र बन्दै गएको छ ।
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज मंगलबार बस्न लागेको हो ।
धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने उक्त बैठकमा खड्का समूहका निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापति तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरू सहभागी हुने सचिवालयले जनाएको छ ।
यसअघि वैशाख ६ गते पनि सोही स्थानमा खड्का समूहको बैठक बसेको थियो ।
सर्वोच्च अदालतले वैशाख ४ गते गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिएपछि खड्का समूह आन्तरिक रणनीति बनाउन सक्रिय भएको हो ।
उक्त बैठकले अदालतको निर्णय स्वीकार गर्ने निष्कर्ष निकालेको थियो ।
त्यसपछि सभापति थापाले गोल्फुटारस्थित खड्काको निवासमै पुगेर भेटवार्ता गरेका थिए ।
उक्त भेटलाई कांग्रेसभित्रको विवाद समाधानका लागि संवादको प्रारम्भका रूपमा हेरिएको छ ।
पार्टी एकता सुदृढ बनाउन ठोस प्रस्तावसहित पुनः संवादमा बस्ने तयारी थापाले गरिरहेका छन् ।
तर, त्यसअघि आफ्नो समूहको भेला आयोजना गर्दै खड्का पक्षले सभापति थापामाथि थप राजनीतिक दबाब सिर्जना गर्ने रणनीति अघि सारेको देखिन्छ ।






















