काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यवृद्धिभन्दा एक–दुई दिनअघि ठुलो परिमाणमा इन्धन बिक्री गरेर नेपाल आयल निगमलाई संस्थागत नोक्सानी पुर्याइएको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक अनुसन्धान सुरु गरेको छ ।
निगमका केही कर्मचारी र व्यवसायीले मूल्यवृद्धिको पूर्वसूचना प्रयोग गरी अस्वाभाविक रूपमा इन्धन खरिद–बिक्री गरेर लाभ लिएको उजुरी परेपछि अख्तियारको ९ नम्बर महाशाखाले गत माघ महिनादेखिको बिक्री विवरणमाथि विस्तृत अध्ययन अघि बढाएको हो ।
अनुसन्धानका लागि आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमसँग दैनिक इन्धन बिक्रीको तथ्यांक माग गरेको छ ।
मन्त्रालयले पनि निगमलाई पत्राचार गर्दै विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले मन्त्रालयबाट दैनिक कारोबार विवरण माग गरिएको पुष्टि गर्दै आवश्यक तथ्यांक उपलब्ध गराउने प्रक्रिया जारी रहेको बताएका छन् ।
अख्तियार स्रोतका अनुसार मूल्यवृद्धिभन्दा अघिल्लो दिनहरूमा अस्वाभाविक रूपमा बढी परिमाणमा पेट्रोल र डिजेल बिक्री भएको उजुरीपछि अनुसन्धान सुरु गरिएको हो ।
अब मूल्य परिवर्तन भएका मितिहरू र त्यसअघिको बिक्री तथ्यांक तुलना गरेर सम्भावित अनियमितता पहिचान गर्ने तयारी गरिएको छ ।
तर, अनुसन्धान अघि बढेसँगै केही डिपोहरूबाट आवश्यक कागजात उपलब्ध गराउन ढिलाइ भइरहेको निगम स्रोतले जनाएको छ ।
दैनिक बिक्री विवरण निगमको प्रणालीबाट सहजै निकाल्न सकिने भए पनि विवरण पठाउन ढिलाइ हुनु शंकास्पद देखिएको कर्मचारीहरूको भनाइ छ ।
निगमभित्रका उच्च अधिकारीहरूले पनि दैनिक बिक्री तथ्यांक प्रणालीमार्फत नियमित रूपमा हेर्ने गरेको बताइन्छ । यस्तो अवस्थामा सहज रूपमा उपलब्ध हुने विवरण दिन ढिलाइ हुनु आफैंमा प्रश्न उठाउने विषय भएको एक कर्मचारीको भनाइ छ ।
तर, कार्यकारी निर्देशक भट्टले भने मूल्यवृद्धिअघि अस्वाभाविक रूपमा बढी इन्धन बिक्री भएको आरोप अस्वीकार गरेका छन् ।
उनका अनुसार बिक्री बजारको माग र आपूर्तिका आधारमा मात्र हुने गरेको छ र संस्थाले अनावश्यक बिक्री नगरेको दाबी गरिएको छ ।
यसअघि १ चैतको मूल्यवृद्धिभन्दा अघि औसतभन्दा करिब ८८ लाख लिटर बढी इन्धन बिक्री भएको र त्यसले निगमलाई १० करोड रुपैयाँभन्दा बढी घाटा पुर्याएको विवरण सार्वजनिक भएको थियो ।
त्यस्तै, १७ चैत र २ वैशाखको मूल्यवृद्धिअघि पनि यस्तै प्रकारको अस्वाभाविक बिक्री भएको तथ्य सार्वजनिक भइसकेको छ ।
सरकारले निगमको घाटा न्यूनीकरण गर्ने भन्दै कर छुट, सार्वजनिक बिदा, विद्यालय सत्र ढिलाइ र इन्धन मूल्य समायोजनजस्ता उपाय अपनाए पनि मूल्यवृद्धिभन्दा अघिको अस्वाभाविक बिक्रीले निगमको वित्तीय अवस्था झन् दबाबमा परेको बताइन्छ ।
अख्तियारले अब विस्तृत बिक्री तथ्यांक विश्लेषण गरी सम्भावित मिलेमतो, सूचना चुहावट वा संस्थागत दुरुपयोग भएको हो कि होइन भन्ने विषयमा केन्द्रित भएर अनुसन्धान अघि बढाउने जनाएको छ ।






















