काठमाडौं– इरान र अमेरिकाबीच दोस्रो चरणको वार्ता हुने स्पष्ट संकेत नदेखिए पनि इरानी परराष्ट्रमन्त्री अब्बास अरागचीको लगातारको कूटनीतिक भ्रमणले क्षेत्रीय चहलपहल बढेको छ ।
आइतबार उनी पुनः पाकिस्तान पुगेका छन् ।
यसअघि उनी शुक्रबार–शनिबार पनि इस्लामाबाद पुगेर पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनीर र प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरी ओमान गएका थिए ।
ओमानमा उनले सुल्तान हैथम बिन तारिक अल सईदसँग क्षेत्रीय अवस्था र मध्यस्थताबारे छलफल गरेका थिए ।
त्यसपछि कतार, साउदी अरबलगायतका उच्च अधिकारीसँग फोन संवाद गर्दै इरानले तनाव कम गर्न गरेका प्रयासबारे जानकारी दिएका छन् ।
उनी हाल ओमान हुँदै पुनः पाकिस्तान फर्किएका हुन् ।
खाडी मुलुकहरू युद्धविरामपछि स्थायित्व, होर्मुज जलमार्गको सुरक्षा र ऊर्जा आपूर्तिको निरन्तरतामा केन्द्रित देखिएका छन् ।
कतारले वार्ता र युद्धविरामलाई दिगो बनाउने प्रयासलाई प्राथमिकता दिएको छ भने साउदी अरबले इरानको सुरक्षा नीतिप्रति कडा दृष्टिकोण राख्दै आएको छ ।
यूएई इरानप्रति सबैभन्दा आलोचनात्मक देखिएको छ, जबकि बहराइन र कुवेतले शत्रुतापूर्ण गतिविधि रोक्न र समुद्री सुरक्षा सुनिश्चित गर्न जोड दिएका छन् ।
ओमान भने परम्परागत रूपमा मध्यस्थकर्ताको भूमिकामा रहँदै सबै पक्षबीच संवाद र तनाव न्यूनीकरणको पक्षमा सक्रिय छ ।
समग्रमा, मध्यपूर्वमा युद्धविराम भए पनि दीर्घकालीन समाधान र क्षेत्रीय स्थायित्वका विषय अझै अनिश्चित देखिन्छन्, जसले कूटनीतिक गतिविधि तीव्र बनाएको छ ।


विश्व खबर 




















