images
images
  • सार्वजनिक स्थलमा धूमपान नियन्त्रण गर्न काठमाडौं महानगरद्वारा स्वयमसेवक परिचालन

    काठमाडौं । सार्वजनिक स्थलमा धूमपान नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले स्वयंसेवक परिचालन गर्ने भएको छ ।

    महानगर र नेपाल प्रहरीबीचको सहकार्यमा जनचेतना अभिवृद्धि गर्दै धूमपान नियन्त्रणलाई कडाइका साथ लागू गर्न नयाँ योजना अघि सारिएको हो ।

    महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगाेलले अभियानले धूमपान नियन्त्रणसँगै युवालाई सामाजिक जिम्मेवारीमा जोड्ने बताएकी छन् । महानगरले सार्वजनिक स्थानमा धूमपान गर्नेलाई १०० रुपैयाँ जरिबाना गर्दै आएको छ ।

    नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ अनुसार सार्वजनिक स्थान, सवारीसाधन र कार्यस्थलमा धूमपान निषेध गरिएको छ । विद्यालय, अस्पताल, सरकारी कार्यालय, होटल, सिनेमा हल, विमानस्थल लगायतका स्थानमा पूर्ण प्रतिबन्ध लागू गरिएको छ । साथै १८ वर्षमुनिका बालबालिकालाई बिक्रीमा रोक, विज्ञापन निषेध र चेतावनीमूलक तस्बिर अनिवार्य गर्ने व्यवस्था पनि छ ।

    महानगरले गत भदौदेखि नै जरिवाना प्रणाली लागू गरे पनि जनशक्ति अभाव र अनुगमन कमजोर हुँदा प्रभावकारी बन्न सकेको थिएन । अब स्वयंसेवकमार्फत नियमित निगरानी र समुदायस्तरमै सचेतना बढाउने योजना बनाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

    स्वास्थ्य शाखा प्रमुख दीपक केसीका अनुसार नीति भए पनि कार्यान्वयन कमजोर हुँदा अपेक्षित परिणाम आउन सकेको छैन । स्वास्थ्य मन्त्रालयले पनि कानुन कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा धूमपानजन्य रोगका कारण वार्षिक करिब ३९ हजार जनाको मृत्यु हुने गरेको जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images