काठमाडौं– काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा बनाइएका संरचना हटाउने अभियान सुरु गरिएको छ ।
शनिबारदेखि सुरु भएको अभियानअन्तर्गत काठमाडौंका थापाथली, सिनामंगल–गैरीगाउँ, शान्तिनगर र मनोहरा नदी किनारका बस्ती हटाइएका छन् ।
आज गोठाटार र मनोहरा टोल क्षेत्रमा पनि अतिक्रमित संरचना हटाउने काम जारी छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार प्रारम्भमा जोखिमयुक्त क्षेत्र खाली गरिने र पछि भूमिहीनको पहिचान गरी बसोबासको व्यवस्था गरिनेछ ।
हालसम्म २१४ परिवार सम्पर्कमा आएका छन्, जसलाई अस्थायी रूपमा होटलमा राखिएको छ ।
यस्तै अभियान रुपन्देही, नुवाकोट र पर्सामा पनि सञ्चालन गरिएको छ ।
यस क्रममा शनिबार सामान्य झडप हुँदा २२ सुरक्षाकर्मी घाइते भएका थिए भने आजको अवस्था शान्तिपूर्ण रहेको छ ।
यसैबीच, मानवअधिकार एलायन्सले वैकल्पिक व्यवस्थाविना बस्ती हटाउनु मानवअधिकारविरुद्ध हुने भन्दै संवादमार्फत समाधान खोज्न आग्रह गरेको छ ।






















