images
images
  • बालेन सरकारको शासकीय सुधारका १०० बुँदामध्ये ५० कार्यान्वयन, युद्धगतिमा कार्य

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको छ ।

    चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शाह नेतृत्वको सरकारले सोही दिन १०० बुँदे शासकीय सुधार कार्यसूची स्वीकृत गरेको थियो, जसमध्ये ५० बुँदा एक महिनाभित्र कार्यान्वयन गर्ने लक्ष्य राखिएको थियो ।

    सरकारका अनुसार अधिकांश बुँदा कार्यान्वयनको चरणमा रहेका छन् भने केही सम्पन्न भइसकेका छन् ।

    यद्यपि, बुँदागत रूपमा पूर्ण विवरण अझै सार्वजनिक गरिएको छैन ।

    एक महिनाभित्र पूरा गर्ने भनिएका केही महत्वपूर्ण कार्यहरू भने अझै कार्यान्वयनमा आउन सकेका छैनन् ।

    एक महिनाको अवधिमा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा जारी, उच्चस्तरीय छानबिन आयोग गठन, मन्त्रालय संख्या घटाउने प्रक्रिया, आरोग्य पर्यटन रणनीति स्वीकृति, भ्रष्टाचारविरुद्ध राष्ट्रिय कार्ययोजना जारीजस्ता काम सम्पन्न भएका छन् ।

    त्यस्तै, डिजिटल सेवा, प्रशासन सुधार, आर्थिक तथा निजी क्षेत्र प्रवद्र्धन, ऊर्जा र स्वास्थ्य क्षेत्रका अधिकांश कार्यक्रम कार्यान्वयनकै चरणमा छन् ।

    तर, दलित तथा बहिष्कृत समुदायसँग औपचारिक माफी माग्ने, डिजिटल सेवा पूर्ण रूपमा लागू गर्ने, फाइल ट्र्याकिङ प्रणाली, नागरिक एपबाट प्रमाणपत्र डाउनलोड, सुरक्षा तथा आपूर्ति व्यवस्थासम्बन्धी केही बुँदाहरू अझै कार्यान्वयन हुन सकेका छैनन् ।

    समग्रमा, सरकारको एक महिने कार्यसम्पादन मिश्रित देखिएको छ, केही क्षेत्रमा तीव्र प्रगति देखिए पनि कतिपय महत्वपूर्ण प्रतिबद्धता अझै अपूरै छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images