images
images
  • नेको इन्स्योरेन्स विवाद : मौतिकमन्त्रीले कार्यकक्षमै १० करोड भुक्तानी गर्न दबाब दिएको खुलासा

    काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले अदालतमा विचाराधीन एक विवादित बीमा दावी भुक्तानीसम्बन्धी मुद्दामा नेको इन्स्योरेन्स कम्पनीलाई करिब १० करोड रुपैयाँ भुक्तानी गर्न गैरकानुनी दबाब दिएको आरोप सार्वजनिक भएको छ।

    मन्त्री लम्सालले आफ्नो गृह क्षेत्र बुटवलसँग जोडिएको लुम्बिनी बिल्डर्स प्रा.लि.का पक्षमा निर्णय गराउन आफ्नो कार्यकक्षमा बीमा प्राधिकरणका अधिकारी र नेको इन्स्योरेन्सका सीईओ अशोक खड्कालाई बोलाएर छलफल गराई दाबी रकम भुक्तानी गर्न दबाब दिएको स्रोतहरूले बताएका छन्।

    मन्त्री कार्यकक्षमा उच्चस्तरीय छलफल

    घटना बैशाख ३ गतेको हो। सो दिन मन्त्री लम्सालले लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णु प्रसाद शर्मा, नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का, सडक विभागका उच्च अधिकारीसहितको टोलीलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएका थिए।

    उक्त छलफल सर्वोच्च अदालतमा विचाराधीन मुद्दा नं. ०८२–सिआई–०९६१ सँग सम्बन्धित रहेको बताइएको छ। छलफलका क्रममा मन्त्री लम्सालले उच्च अदालत पाटनको फैसलाअनुसार लुम्बिनी बिल्डर्सले पाउनुपर्ने करिब १० करोड ३४ लाख ९७ हजार रुपैयाँ तत्काल भुक्तानी गर्न निर्देशनात्मक शैलीमा दबाब दिएको स्रोतहरूको दाबी छ।

    स्रोतका अनुसार मन्त्रीले इन्स्योरेन्स कम्पनीका सीईओ खड्कासँग कडा स्वरमा रकम भुक्तानी गर्न आग्रह गरेका थिए।

    नेको इन्स्योरेन्स स्रोतले मन्त्री लम्सालले कार्यकक्षमै बोलाएर भुक्तानीका लागि दबाब दिएको पुष्टि गरे पनि सीईओ खड्काले भने यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।

    न्यायिक प्रक्रियामाथि हस्तक्षेपको प्रश्न

    सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा मन्त्री स्वयंले पक्ष–विपक्षलाई बोलाएर मिलापत्र गराउने प्रयास गरेको घटनाले मन्त्रालयभित्रै आश्चर्य उत्पन्न गरेको बताइएको छ।

    कानुनी जानकारहरूका अनुसार, विचाराधीन मुद्दामा सरकारी मन्त्रीले कुनै पक्षलाई दबाब दिनु वा मिलापत्र गराउन प्रयास गर्नु न्यायिक प्रक्रियामाथि हस्तक्षेपको रूपमा व्याख्या हुन सक्छ।

    बीमा प्राधिकरणले पनि मन्त्रीको दबाबपछि गैरकानुनी ढंगले मिलापत्र गराउने प्रयास गरेको खुलासा भएको छ। तर हिजो भएको छलफलमा भने कुनै सहमति हुन सकेको छैन।

    प्राधिकरण स्रोतका अनुसार नेको इन्स्योरेन्सको सहमति मात्र पर्याप्त नहुने र पुनर्बीमा कम्पनीसमेत संलग्न हुने भएकाले तत्काल भुक्तानी सम्भव छैन।

    राज्य स्वामित्व र कानुनी जटिलता

    नेको इन्स्योरेन्स कम्पनीमा नेपाल सरकारको २१ प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ। यस्तो अवस्थामा सरकारकै मन्त्रीले कम्पनीलाई एकतर्फी दबाब दिएको विषयले सार्वजनिक चासो बढाएको छ।

    कानुनी प्रक्रिया अनुसार, कुनै पनि अदालतमा विचाराधीन मुद्दामा सरकारी निकाय वा मन्त्रीले हस्तक्षेप गर्नु अवैध मानिन्छ। यस्ता कार्यलाई न्याय प्रभावित गर्ने प्रयासका रूपमा समेत व्याख्या गर्न सकिन्छ।

    विवादको पृष्ठभूमि: कमला पुल परियोजना

    यो विवादको जरो २०६८ सालमा सुरु भएको कमला पुल निर्माण परियोजनासँग जोडिएको छ। सिराहा–धनुषा जोड्ने ४७० मिटर लामो पुल पप्पु कन्स्ट्रक्सन र लुम्बिनी जेभीले संयुक्त रूपमा निर्माण गर्ने गरी ठेक्का पाएका थिए।

    पछि पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले सम्पन्न गरेको थियो। तर २०७८ सालमा आएको बाढीले पुलको एक स्पान भासिएर क्षति पुगेको थियो।

    बीमा दावी भने २०७८ मंसिर २० गते मात्र नवीकरण गरिएको आधारमा बीमा प्राधिकरणले प्रारम्भिक रूपमा अस्वीकार गरेको थियो।

    त्यसपछि उच्च अदालत पाटनले २०८२ पुस १८ गते बीमा कम्पनीको दायित्व स्थापित हुने गरी फैसला गरेको थियो। तर उक्त फैसला सर्भेयर प्रतिवेदनभन्दा बाहिर गई निजी प्रतिवेदनलाई आधार मानेको भन्दै विवादित बनेको छ।

    सर्वोच्चमा पुनरावेदन

    उच्च अदालतको निर्णयपछि नेको इन्स्योरेन्स कम्पनीले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरिसकेको छ। कम्पनीले फैसलामा कानुनी र प्राविधिक त्रुटि रहेको दाबी गर्दै न्यायिक पुनरावलोकनको माग गरेको छ।

    यसैबीच लुम्बिनी बिल्डर्स पक्षले सर्वोच्चमा मुद्दा पुगेको जानकारी पाएपछि विभिन्न माध्यममार्फत मन्त्री लम्सालसम्म पहुँच बढाएको स्रोतहरूको दाबी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images