काठमाडौं– सरकारले वास्तविक सुकुमवासीको पहिचान गरी उनीहरूलाई दीर्घकालीन बसोबासको व्यवस्था गर्ने योजना अघि बढाएको छ ।
विगतका तथ्यांक र हाल भइरहेको ‘स्क्रिनिङ’का आधारमा सुकुमवासी पहिचान गरिने सहरी विकास मन्त्रालयले जनाएको छ ।
प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार तीनपुस्ते विवरण संकलनमार्फत वास्तविक अवस्था यकिन गरिनेछ । त्यसपछि उपत्यका वा सम्बन्धित जिल्लामै उनीहरूको बसोबासको व्यवस्था मिलाइनेछ ।
उपत्यकाभित्रका लागि व्यवस्थित आवास संरचना निर्माण गरिनेछ भने बाहिरी जिल्लामा जग्गा वितरण गरिने योजना छ ।
नागरिकता नभएका वा थातथलो स्पष्ट नभएकालाई थप अध्ययनपछि मात्र व्यवस्थापन गरिनेछ । भूमिसुधार मन्त्रालयले दुई महिनाभित्र जग्गा वितरणको मोडालिटी तय गर्ने बताइएको छ ।
साथै, जग्गा भए पनि विपद् वा विकास आयोजनाका कारण विस्थापित भएकालाई पनि प्राथमिकतामा राखिनेछ ।
दशरथ रंगशालामा स्क्रिनिङ प्रक्रिया जारी रहेको छ ।






















