काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको एक महिना बितिसक्दा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न नसक्दा पार्टीभित्रै नेतृत्व क्षमतामाथि प्रश्न उठ्न थालेको छ ।
दलको नेता चयनमा देखिएको ढिलाइले आन्तरिक समन्वय मात्र होइन, संसद्मा पार्टीको भूमिकामाथि समेत असर परेको भन्दै सांसदहरू चिन्तित देखिन्छन् ।
पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा बीच स्पष्ट सहमति नजुट्दा प्रक्रिया लम्बिएको नेताहरूको बुझाइ छ ।
नयाँ वर्षको सुरुमै दलको नेता चयन गर्ने घोषणा गरिए पनि व्यवहारमा सहमति जुट्न नसक्दा निर्णय बारम्बार टर्दै आएको छ ।
दलको नेता चयन नहुँदा सरकारसँगको समन्वय, नीति निर्माणमा धारणा तय गर्ने प्रक्रिया तथा संसदीय गतिविधि नै प्रभावित भएको सांसदहरूको गुनासो छ ।
‘ढिलाइ लम्बिँदै जाँदा पार्टीभित्र अविश्वास बढ्ने र विभाजनको रेखा गहिरिने खतरा छ,’ एक केन्द्रीय नेताले भने, ‘यसले देशभर गलत सन्देश दिन सक्छ ।’
सर्वसम्मतिबाटै नेता चयन गर्ने प्रयास भइरहे पनि आन्तरिक मतभेदले प्रक्रिया जटिल बनेको छ ।
निर्वाचनको मिति तोकिएर प्रक्रिया अघि बढिसकेको अवस्थामा पनि अन्तिम समयमा निर्णय स्थगन गरिएको थियो ।
पछि शीर्ष नेताहरूलाई सहमति जुटाउने जिम्मेवारी दिइए पनि अझै ठोस निष्कर्ष निस्किएको छैन ।
हाल दलको नेताका लागि तीन प्रमुख आकांक्षी देखिएका छन्, अर्जुननरसिंह केसी, भीष्म आङ्देम्बे र मोहन आचार्य ।
यीमध्ये कसैलाई सर्वसम्मतिमा ल्याउने प्रयास भइरहे पनि आन्तरिक शक्ति सन्तुलन, समूहगत राजनीति र व्यक्तिगत आकांक्षाले सहमति कठिन बनाइरहेको छ ।
केसी पार्टीका ज्येष्ठ नेता हुन् र अनुभवका आधारमा आफू स्वाभाविक दाबेदार भएको दाबी गर्छन् ।
तर, उनी सभापति थापाका ससुरा समेत भएकाले नेतृत्वमा ल्याउँदा नैतिक प्रश्न उठ्ने तर्क अघि सारिएको छ ।
अर्कोतर्फ, आङ्देम्बेलाई अघि सार्दा पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहसँग सन्तुलन मिलाउन सकिने धारणा छ ।
उपसभापति शर्माले विशेषगरी जनजाति प्रतिनिधित्व सुदृढ गर्न आङ्देम्बेलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन् ।
यता, मोहन आचार्यलाई अघि बढाउँदा व्यवसायिक पृष्ठभूमिका व्यक्ति नेतृत्वमा आएको सन्देश जाने भन्दै केही सांसद सशंकित छन् ।
त्यसैले केही नेताहरूले नयाँ पुस्ताका नेताहरू जस्तै निश्कल राई, योगेश गौचन थकाली वा बासना थापामध्येबाट नेतृत्व ल्याउनुपर्ने तर्क पनि अघि सारेका छन्, जसले पार्टीलाई नयाँ सन्देश दिन सक्ने उनीहरूको विश्वास छ ।
हालको अवस्था हेर्दा कांग्रेसभित्र नेतृत्व चयन केवल व्यक्ति छनोटको विषय नभई शक्ति सन्तुलन, पुस्तान्तरण र राजनीतिक सन्देशसँग जोडिएको जटिल समीकरण बनेको देखिन्छ ।
सहमतिमा टुंगो लागे पनि वा निर्वाचनमार्फत निर्णय भए पनि, यस प्रक्रियाले पार्टीको आन्तरिक एकता र आगामी राजनीतिक दिशा निर्धारणमा महत्वपूर्ण प्रभाव पार्ने निश्चित छ ।






















