images
images
  • नेपाल आइपुग्यो पानी पार्ने बादल : हिमपात, असिना र वर्षाको सम्भावना कहिलेसम्म ?

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागले देशभर आगामी तीन दिनसम्म मौसम आंशिकदेखि बदली रहने र विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

    विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान सार्वजनिक गरेको बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक असर देखिएको छ ।

    हाल कोशी प्रदेश र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली छ ।

    तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।

    कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।

    तीन दिनको पूर्वानुमान

    विभागका अनुसार आज (आइतबार) दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेश सहित कोशी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ ।

    साथै मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ ।

    आज राति पनि देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    सोमबार र मंगलबार पनि समान प्रवृत्तिको मौसम रहने विभागले जनाएको छ ।

    विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपातको सम्भावना उच्च रहनेछ ।

    तराईमा गर्मी बढ्ने संकेत

    विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने आगामी दिनहरूमा तातो दिन रहने सम्भावना देखिएको छ । तापक्रम बढेसँगै जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    सावधानी अपनाउन आग्रह

    मेघगर्जन, चट्याङ्ग तथा वर्षाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात र कृषिमा असर पर्न सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    विभागले मौसमसम्बन्धी पछिल्ला सूचनामा नियमित अद्यावधिक रहन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images