वास्तविक सुकुम्बासीलाई घरको व्यवस्था, कांग्रेस, एमाले र नेकपाकालाई हटाइने
काठमाडौं– काठमाडौंका थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रबाट हटाइएका सुकुमवासीलाई सरकारले १५ दिनभित्र स्थायी बसोवासको व्यवस्था गर्ने तयारी गरेको छ ।
त्यसअघि शनिबार र आइतबार उनीहरूलाई अस्थायी रूपमा तीन फरक स्थानमा सारिनेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सुकुमवासीलाई बिना तयारी हटाइएको भन्ने हल्ला सत्य नभएको दाबी गरिएको छ ।
व्यवस्थित ढंगले स्थानान्तरण गरी लगत संकलन गरिने र त्यसपछि ‘वास्तविक’ र ‘अवास्तविक’ सुकुमवासी छुट्याइनेछ ।
भूमि व्यवस्था मन्त्रालयले १५ दिनभित्र पहिचान प्रक्रिया पूरा गर्नेछ ।
घरजग्गा नभएका वास्तविक सुकुमवासीलाई स्थायी बसोवासको व्यवस्था गरिने सरकारले जनाएको छ भने अन्यलाई हटाइनेछ ।
सरकारले अस्थायी स्थानमा हालभन्दा राम्रो बसोबास र खानाको व्यवस्था गर्ने दाबी गरेको छ ।
अपाङ, वृद्ध, गर्भवती र सुत्केरीलाई सुरक्षित रूपमा स्थानान्तरण गरिने पनि जनाएको छ ।
खोलाकिनारका बस्ती असुरक्षित र अव्यवस्थित भएकाले पुराना अध्ययनको आधारमा खाली गराउन लागिएको सरकारी पक्षको भनाइ छ ।
यद्यपि, स्थानान्तरण प्रक्रियाप्रति केही सुकुमवासीमा त्रास र असन्तुष्टि देखिएको छ ।






















