काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नदी किनारका सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचनामा आज (शुक्रबार) साँझ ७ बजेसम्म सबै अवैध संरचना खाली गर्न भनिएको हो ।
निर्धारित समयभित्र खाली नगरे स्थानीय प्रशासन, प्रहरी र काठमाडौं महानगरपालिकाको संयुक्त टोलीले संरचना भत्काउने चेतावनी दिइएको छ ।
अटेर गरेमा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने जनाइएको छ ।
सूचनामा बस्तीमा बसोबास गर्ने व्यक्तिहरूलाई आफ्नो सरसामान सुरक्षित स्थानमा सार्न, अपांग, बालबालिका, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकताका साथ स्थानान्तरण गर्न आग्रह गरिएको छ ।
आवश्यक परे सुरक्षाकर्मीले सहयोग गर्ने उल्लेख छ ।
भोलि बिहान ६ बजेदेखि संरचना हटाउने अभियान सुरु गरिनेछ ।
सरकारले विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था गर्ने र वास्तविक भूमिहीनको पहिचान गरी चाँडै पुनःस्थापनाको प्रक्रिया अघि बढाउने जनाएको छ ।























