images
images
  • भट्ट–अग्रवाल समूहको विवादित सेयर कारोबारमा ६ व्यापारी संलग्न, को–को हुन् उनीहरू ?

    काठमाडौं– व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल समूहको मिलेमतोमा सञ्चालन भएको विवादित सेयर कारोबार प्रकरणमा थप छ जना व्यापारीको संलग्नता खुलेको छ। धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदनले गैरकानुनी उधारो कारोबार, कृत्रिम मूल्यवृद्धि र रकम चुक्ता नगरी सेयर किनबेच गरिएको निष्कर्ष निकाल्दै कडा कारबाही सिफारिस गरेको छ।

    प्रतिवेदनअनुसार शुभी अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख सन्दीप चाचान आरोपितका रूपमा देखिएका छन् भने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा र व्यवसायी रोहित गुप्ता सहयोगीका रूपमा उल्लेख छन्। यस प्रकरणमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ, हिमालयन सेक्युरिटिज र एचएलआई लार्ज क्याप फन्डसहितका संस्थाको पनि संलग्नता औंल्याइएको छ।

    धितोपत्र बोर्डका अनुसार भट्ट समूहले भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) मार्फत अग्रिम रकम नदिई अर्बौं रुपैयाँको सेयर खरिदबिक्री गरेको पाइएको छ। भट्टले ५ साउन २०८२ देखि १ चैत २०८२ सम्म ३ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर खरिद गर्दा ९३ करोड रुपैयाँ बराबरको मात्र बिक्री गरेका छन्। सो अवधिमा उनले ब्रोकरलाई कुनै रकम भुक्तानी नगरेको र हालसम्म करिब २ अर्ब ८९ करोड रुपैयाँ बक्यौता रहेको प्रतिवेदनमा उल्लेख छ।

    यस्तै, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाहले १ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर खरिद गरे पनि ठूलो रकम अझै भुक्तानी नगरेको पाइएको छ। शुभी अग्रवालले विभिन्न कम्पनीको रकम प्रयोग गरी सेयर खरिद गरेको र करिब ६२ करोड रुपैयाँ बक्यौता रहेको छ भने ऋषिराज मोरले पनि अग्रिम रकम बिना कारोबार गरी २३ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ।

    प्रतिवेदनमा भृकुटी स्टक ब्रोकिङले कानुनविपरीत रकम नलिई सेयर राफसाफ (सेटलमेन्ट) गरेको उल्लेख छ। कम्पनीका प्रमुख सन्दीप चाचानले यस्तो कारोबारमा सहयोग गरेको भन्दै थप अनुसन्धानका लागि सिफारिस गरिएको छ।

    अनुसन्धानले यो समूहले नेपाल रिइन्स्योरेन्स लगायत कम्पनीहरूको सेयरमा कृत्रिम माग सिर्जना गरी मूल्य बढाएको देखाएको छ। ५ साउन २०८२ मा १४६१ रुपैयाँ रहेको सेयर मूल्य १० भदौ २०८२ मा १६८६ रुपैयाँ पुगेको तथ्य प्रतिवेदनमा उल्लेख छ।

    यस प्रकरणमा केही प्रतिष्ठित व्यवसायी र संस्थाबाट आएको रकम प्रयोग गरी सेयर कारोबार गरिएको पनि खुलासा भएको छ। ब्रोकरले शेखर गोल्छा र रोहित गुप्तालाई जनही ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ।

    धितोपत्र बोर्डले यो प्रकरणलाई धितोपत्र ऐन, २०६३ अन्तर्गतको गम्भीर कसुर ठहर गर्दै फौजदारी मुद्दा चलाउन, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत सम्पत्ति जाँच गर्न र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमार्फत थप अनुसन्धान गर्न सिफारिस गरेको छ।

    कानुनअनुसार यस्तो कसुरमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। साथै, लगानीकर्तालाई भएको क्षतिपूर्ति भराउनुपर्ने प्रावधान पनि रहेको छ।

    यो प्रकरणले नेपालको धितोपत्र बजारमा नियामकीय कमजोरी, संस्थागत मिलेमतो र वित्तीय अनुशासनको अभावबारे गम्भीर प्रश्न उठाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images