काठमाडौं– हरेक पटक सरकार गठन हुँदा सबैभन्दा बढी रस्साकस्सी हुने मन्त्रालयमध्ये अग्रस्थानमा पर्छ, गृह मन्त्रालय ।
यो मन्त्रालय सम्हाल्न राजनीतिक तागत, सन्तुलन र विश्वास जति चाहिन्छ, त्यत्तिकै कठिन हुन्छ त्यहाँबाट बेदाग बाहिरिनु ।
अघिल्लो चरणमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारमै सहभागी नहुने अडान लिएका थिए ।
अन्ततः पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनलाई गृह मन्त्रालय दिँदै सरकारमा भित्र्याइयो। त्यतिबेला सत्ताको ठूलो दल एमालेले गृह र अर्थ दुवै मन्त्रालय नपाएको अवस्था थियो ।
२०७८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकार गठन हुँदा पनि गृह मन्त्रालय कसले लिने भन्ने विषयमा तीव्र खिचातानी भएको थियो ।
पछिल्ला वर्षहरूमा प्रधानमन्त्रीको दलले अर्थ मन्त्रालय राख्ने र सत्ता साझेदारलाई गृह मन्त्रालय दिने अभ्यास देखिए पनि देउवाले भने आफ्नै पार्टीका बालकृष्ण खाँणलाई गृह सुम्पिए ।
अर्थ मन्त्रालय तत्कालीन माओवादीका जनार्दन शर्माले सम्हाले ।
तर खाँणको कार्यकाल विवादरहित रहन सकेन, उनी पछि शरणार्थी प्रकरणमा पक्राउ परे र जेलसम्म पुग्नुपर्यो ।
पछिल्ला चार वर्षमा मात्र चार जना गृहमन्त्री विवादमा तानिएका छन् ।
तीमध्ये दुई जना त एक महिना नपुग्दै पदबाट बाहिरिन बाध्य भए, पहिला रवि लामिछाने, त्यसपछि सुधन गुरुङ ।
फागुन १३ गते गृहमन्त्री बनेका गुरुङले जम्मा २६ दिन मात्र पद सम्हाल्न पाए ।
सुरुवातमा उनीमाथि कुनै गम्भीर आरोप थिएनन् ।
तर, छोटो अवधिमै फेवाताल जग्गा प्रकरण, व्यापारी दीपक भट्टसँगको सम्बन्ध र सम्पत्ति विवरण सार्वजनिक भएपछि उठेका प्रश्नहरूले उनलाई घेर्यो ।
विशेषगरी जेनजी आन्दोलनपछि जग्गा र सेयर खरिद गरेको विषयले थप शंका जन्मायो ।
अन्ततः सुशासनको नारामा बनेको भनिएको सरकारमै उनलाई टिकाउन सकिएन ।
यसअघि गृहमन्त्री रहिसकेका रमेश लेखक पनि अहिले ज्यान सम्बन्धी कसुरमा अनुसन्धानको घेरामा छन् ।
जेनजी आन्दोलनका क्रममा गोली चलाउन आदेश दिएको आरोपमा उनीमाथि छानबिन भइरहेको छ ।
अदालतको आदेशमा रिहा भए पनि अनुसन्धान टुंगिएको छैन ।
त्यति मात्र होइन, भिजिट भिसा प्रकरणमा पनि अख्तियारले उनीमाथि अनुसन्धान गरिरहेको छ, जसले गर्दा उनको कार्यकाल निरन्तर विवादमा रह्यो ।
२०७९ माघमा गृहमन्त्री बनेका रवि लामिछाने ३२ दिनमै पदमुक्त भए ।
सर्वोच्च अदालतले नागरिकता मुद्दामा दोषी ठहर गर्दै उनलाई सांसद र मन्त्री दुवै पदबाट हटायो ।
पछि उनले नागरिकता प्रक्रिया पूरा गर्दै पुनः चुनाव जिते पनि उनीविरुद्ध अझै विभिन्न मुद्दा विचाराधीन छन्, जसमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा प्रमुख छन् ।
बालकृष्ण खाँण पनि नक्कली शरणार्थी प्रकरणमा मुछिए ।
अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका उनी करिब सात महिना जेल बसे ।
पछि धरौटीमा रिहा भए पनि उनीविरुद्धको मुद्दा अझै अदालतमा विचाराधीन छ ।
गृह मन्त्रालयसँग जोडिएका विवाद यतिमै सीमित छैनन् ।
पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कार्यकालमा सर्लाहीमा कुमार पौडेलको इन्काउन्टर प्रकरणले प्रश्न उठाएको थियो ।
यसमा अदालतले थप अनुसन्धानको आदेश दिइसकेको छ ।
त्यसैगरी विजयकुमार गच्छदार, कृष्णबहादुर महरा, गोविन्दराज जोशी र खुमबहादुर खड्का जस्ता नेताहरू पनि गृह मन्त्रालय सम्हालेपछि विभिन्न मुद्दामा मुछिएका उदाहरण छन् ।
समग्रमा हेर्दा गृह मन्त्रालय शक्ति, प्रभाव र निर्णय क्षमताको केन्द्र मात्र होइन, उत्तिकै जोखिमपूर्ण राजनीतिक क्षेत्र पनि बनेको देखिन्छ ।
यहाँ पुग्न जति गाह्रो छ, त्यहाँबाट निष्कलंक बाहिरिन झनै कठिन साबित हुँदै आएको छ ।






















