images
images
  • गृहमन्त्री नफापेको रास्वपा : ३२ दिनमा रवि, २६ दिनमा सुदन आउट

    काठमाडौं– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि गृहमन्त्रालय फेरि एकपटक ‘अभागी’ सावित भएको छ ।

    पार्टी सभापति रवि लामिछाने ३२ दिनमै पदबाट बाहिरिनु परेको इतिहास दोहोरिँदै यसपटक गृहमन्त्री बनेका सुधन गुरुङ पनि २७ दिनमै पद गुमाउन बाध्य भएका छन् ।

    गुरुङले विवादित व्यवसायीसँग सेयर साझेदारी रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेप्नुपरेको थियो ।

    ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को प्रश्न उठेपछि उनले बुधबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

    उनले निष्पक्ष छानबिनका लागि आफू पदमा बसिरहनु उपयुक्त नहुने निष्कर्षसहित राजीनामा दिएको बताएका छन् ।

    यसअघि, लामिछाने सहकारी प्रकरणसँग जोडिएको विवादका कारण गृहमन्त्री पदबाट बाहिरिएका थिए ।

    उनी गृहमन्त्री बनेको ३२ दिनमै पद त्याग्न बाध्य भएका थिए, जसले रास्वपाको शासन क्षमतामाथि गम्भीर प्रश्न उठाएको थियो ।

    दोहोरिँदै समस्याः नैतिकता कि संरचनात्मक कमजोरी ?

    रास्वपाले ‘स्वच्छ राजनीति’को नारासहित सरकारमा प्रवेश गरे पनि गृहमन्त्रालय जस्तो संवेदनशील जिम्मेवारीमा भने बारम्बार विवादमा तानिँदै आएको छ ।

    छोटो अवधिमै दुई÷दुई गृहमन्त्री बाहिरिनु संयोग मात्र नभई संरचनात्मक कमजोरी, उम्मेदवार छनोटको त्रुटि वा राजनीतिक अपरिपक्वताको संकेतका रूपमा हेरिएको छ ।

    विशेषगरी गृहमन्त्रालयजस्तो शक्तिशाली मन्त्रालयमा रहने व्यक्तिको विगत, व्यावसायिक सम्बन्ध र आर्थिक हितबारे पर्याप्त ‘ड्यू डिलिजेन्स’ नगर्दा यस्तो अवस्था आएको विश्लेषकहरू बताउँछन् ।

    सरकार र रास्वपामाथि दबाब

    लगातार दुई गृहमन्त्री विवादमा परेर बाहिरिएपछि रास्वपा नेतृत्वमाथि नैतिक तथा राजनीतिक दबाब बढेको छ ।

    विपक्षी दलहरूले सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउन थालेका छन् भने सत्तारूढ गठबन्धनभित्र पनि असन्तुष्टि देखिन थालेको छ ।

    प्रधानमन्त्री बालेनले हाल गृहमन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने निर्णय गरेका छन् ।

    तर, दीर्घकालीन रूपमा यो मन्त्रालय कसलाई दिने भन्ने विषयमा अझै अन्योल कायम छ ।

    रास्वपाका लागि गृहमन्त्रालय ‘सबैभन्दा कठिन परीक्षा’ बनेको देखिन्छ ।

    ३२ दिनमा रवि बाहिरिए, २७ दिनमै सुधन पनि ‘आउट’, यो केवल व्यक्तिको असफलता मात्र नभई पार्टीको संस्थागत क्षमतामाथि उठेको प्रश्न हो ।

    अब रास्वपाले यो चक्र तोड्न सक्ला कि गृहमन्त्रालय फेरि अर्को विवादको केन्द्र बन्नेछ, यसले आगामी राजनीतिक दिशा तय गर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images