काठमाडौं– नेपालको तीनदिने भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर स्वदेश फर्किएका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक–आर्थिक प्राथमिकता र द्विपक्षीय सम्बन्ध केन्द्रित भेटवार्ता पूरा गरी उनी बुधबार अमेरिका फर्किएका हुन् ।
काठमाडौं बसाइका क्रममा उनले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका थिए । साथै, उनले सूचना प्रविधि (आईटी) उद्यमीहरूसँग पनि अन्तरक्रिया गरे भने अर्थमन्त्री वाग्लेसँग व्यापार र लगानीका विषयमा विस्तृत छलफल भएको थियो ।
तर, उनले प्रधानमन्त्री बालेन शाहसँग भने भेट गरेनन्, जसलाई कूटनीतिक दृष्टिले अर्थपूर्ण मानिएको छ । यसअघि अमेरिकी उच्च अधिकारीहरूको भ्रमणमा प्रधानमन्त्रीसँग भेटघाट हुने परम्परा रहँदै आएको थियो ।
यसैबीच, कपुरले अमेरिकी लगानी शिखर सम्मेलन प्रतिनिधिमण्डलसँग पनि छलफल गरेका थिए । अमेरिकी दूतावासले उनको भ्रमण नेपाल–अमेरिका सम्बन्ध सुदृढ बनाउन र प्रविधि क्षेत्रमा सहकार्यका नयाँ अवसर खोज्न उपयोगी भएको जनाएको छ ।
दक्षिण एसियाली मामिलाका जानकार मानिने कपुरलाई २०२५ अक्टोबरमा अमेरिकी प्रशासनले नियुक्त गरेको हो । उनी बालेन शाह नेतृत्वको सरकार बनेपछि नेपाल भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारीमध्ये एक हुन् ।






















