काठमाडौं– गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।
उनले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको घोषणा गर्दै तत्काल प्रभावबाट लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन् ।
राजीनामाको कारणबारे उल्लेख गर्दै उनले आफ्नो नाम जोडिएका विषयहरूमा निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गर्न र पदमा रहँदा स्वार्थको द्वन्द्व देखिन नदिन यो निर्णय लिएको बताएका छन् ।
उनले लेखेका छन् कि हाल आफ्ना शेयरलगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई उनले गम्भीर रूपमा लिएका छन् ।
पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको उल्लेख गर्दै उनले सार्वजनिक जीवनमा पारदर्शिता र जवाफदेहिताको आवश्यकता औंल्याएका छन् ।
सामाजिक सञ्जालमा जारी सन्देशमा उनले पछिल्ला दिनहरूमा सुशासन, पारदर्शिता र जिम्मेवारीप्रति जनस्तरबाट उठेको आवाजलाई पनि संकेत गरेका छन् ।
उनले भनेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै प्रकारको स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले मैले राजीनामा दिएको हुँ ।”
उनले आफ्नो कार्यकालमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको उल्लेख गर्दै अब सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा सबैले उभिनुपर्ने आवश्यकता रहेको टिप्पणी गरेका छन् ।
साथै, सञ्चारमाध्यम र आम नागरिकलाई सम्बोधन गर्दै उनले सार्वजनिक जीवनमा नैतिकता र त्यागको संस्कृति आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन् ।






















