images
images
  • हिमालयन लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष सुलभ अग्रवाल र छोरा कृषिवमाथि ३४ करोड अनियमितताको आरोप

    काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक जाँचबुझ प्रतिवेदनले हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र उनका छोरा कृषिव अग्रवालले करिब ३४ करोड ४२ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबारमा गम्भीर अनियमितता गरेको निष्कर्ष निकालेको छ।

    पदको दुरुपयोग गर्दै उनीहरू ‘इनसाइडर ट्रेडिङ’ तथा जालसाजीयुक्त कारोबारमा संलग्न रहेको देखिएपछि बोर्डले थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा सिफारिस गरेको छ।

    २०८३ वैशाख ३ गते तयार गरिएको प्रतिवेदन अनुसार अग्रवाल बाबु–छोराले धितोपत्र ऐन तथा नियामक प्रावधानहरूको उल्लंघन गर्दै नाबालिक छोरासँग अंशवण्डाको बहानामा सेयर नामसारी गरी ठूलो परिमाणमा कारोबार गरेको खुलेको छ। यो तथ्य सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान क्रममा सुलभ अग्रवालले दिएको बयान र बोर्डको छुट्टै छानबिनबाट उजागर भएको हो।

    प्रतिवेदनअनुसार सुलभ अग्रवालले कानुनी बन्देज छल्न काठमाडौं जिल्ला अदालतमा ‘अंश चलन’ मुद्दा दायर गर्दै २०८१ चैत २० गते नाबालिक छोरा कृषिवसँग मिलापत्र गरेका थिए। सोही मिलापत्रका आधारमा आफ्नो नाममा रहेको ८,०३,०३१ कित्ता सेयर छोराको नाममा हस्तान्तरण गरिएको देखिन्छ। बोर्डले यस प्रक्रियालाई सेयर बिक्रीको उद्देश्यले रचिएको योजनाबद्ध जालसाजीको रूपमा व्याख्या गरेको छ।

    धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ अनुसार कम्पनीका अध्यक्ष वा सञ्चालकले पदमा रहँदा वा पद छाडेको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्था छ। तर, सुलभ अग्रवालले उक्त प्रावधानको उल्लंघन गर्दै पदमा रहँदै र राजीनामा पछि पनि छोराको नामबाट ठूलो परिमाणमा सेयर कारोबार गरेको प्रतिवेदनले देखाएको छ।

    बोर्डका अनुसार कम्पनीको आन्तरिक तथा मूल्य संवेदनशील सूचनामा पहुँच भएको अवस्थामा गरिएको यस्तो कारोबार ‘इनसाइडर ट्रेडिङ’ अन्तर्गत पर्छ, जसबाट व्यक्तिगत लाभ लिइएको ठहर गरिएको छ।

    अनुसन्धानमा प्राविधिक प्रमाणसमेत फेला परेको छ। नेप्से र ब्रोकर कम्पनीबाट प्राप्त विवरण अनुसार बाबु–छोराले सेयर कारोबार गर्दा एउटै इन्टरनेट उपकरण र आईपी ठेगाना प्रयोग गरेको देखिएको छ। यसले कृषिव अग्रवालको नाममा खाता भए पनि त्यसको वास्तविक सञ्चालन सुलभ अग्रवालले नै गरेको संकेत गरेको प्रतिवेदनमा उल्लेख छ।

    त्यसैगरी, सेयर बिक्रीबाट प्राप्त करिब ३४ करोड ४२ लाख रुपैयाँ पछि विभिन्न व्यावसायिक कम्पनीहरू जस्तै जगदम्बा स्टील्स र मोदी इनर्जीमा पुनः लगानी गरिएको पनि खुलासा भएको छ।

    बोर्डका प्रारम्भिक जाँचबुझ अधिकृत दीपेश ताम्राकारद्वारा तयार प्रतिवेदनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ र ९८ अनुसार कसुर भएको निष्कर्ष निकालेको छ। ऐनको दफा १०१ अनुसार यस्तो कसुरमा बिगोअनुसार जरिवाना तथा कैद दुवै सजाय हुन सक्ने व्यवस्था छ।

    बोर्डले मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै सम्पूर्ण फाइल सीआईबीमा पठाउने निर्णय गरेको छ। यो प्रकरणले नेपालको पुँजी बजारमा संस्थागत सुशासन, नियामक निकायको प्रभावकारिता र ‘इनसाइडर ट्रेडिङ’ नियन्त्रण प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images