विराटनगर– गृहमन्त्री सुधन गुरुङले पदभार सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटाको भेडेटार क्षेत्रमा करिब २० रोपनी जग्गा खरिद गरेको तथ्य सार्वजनिक भएको छ ।
धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा पर्ने करिब १९ रोपनी १५ आना जग्गा उनले चैत ११ गते जुनु लिम्बूसँग खरिद गरेको मालपोत कार्यालयको अभिलेखमा देखिएको छ ।
उनी चैत १३ गते गृहमन्त्री बनेका थिए ।
मालपोत कार्यालयका अनुसार उक्त जग्गा कित्ता नम्बर १६७ मा पर्छ ।
जग्गा खरिदका क्रममा मन्त्री गुरुङ स्वयं उपस्थित नभई वारेसनामामार्फत प्रक्रिया पूरा गरिएको थियो ।
स्थानीयका अनुसार भेडेटार आसपासको सो क्षेत्र पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिन्छ, जहाँ सडकछेउको जग्गा प्रतिआना ५ लाख रुपैयाँसम्म कारोबार हुने गरेको छ ।
तर जग्गा पास गर्दा सरकारी प्रयोजनका लागि करिब ६ लाख ९० हजार रुपैयाँ मात्र मूल्यांकन देखाई राजस्व तिरेको पाइएको छ ।
मालपोत कार्यालयले भने पालिकाको मूल्यांकन र सरकारी दर फरक पर्ने भएकाले मूल्यांकनमा अन्तर देखिएको जनाएको छ ।
कार्यालय प्रमुखका अनुसार सो क्षेत्रको सरकारी दर प्रतिरोपनी १७ हजार रुपैयाँ मात्र तोकिएको छ ।
गुरुङले उक्त जग्गाको स्रोत र वास्तविक खरिद मूल्य सार्वजनिक गरेका छैनन् ।
यसअघि पनि उनीमाथि शेयर लगानी र सम्पत्ति विवरणबारे प्रश्न उठ्दै आएको छ ।






















