काठमाडौं– प्रचलित नियम कानुनविपरीत शून्य भुक्तानीमै अर्बौँ रुपैयाँ बराबरको सेयर कारोबार भएको तथ्य बाहिरिएको छ ।
धितोपत्र बोर्डको जाँचबुझ अनुसार बिचौलिया दीपक भट्ट पुँजीबजारमा कृत्रिम रूपमा सेयर मूल्य वृद्धि गराउने योजनामा संलग्न रहेको देखिएको छ ।
प्रतिवेदनअनुसार भट्टले २०८२ साल साउन ५ गतेदेखि चैत १ गतेसम्म करिब ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर खरिद गरेका छन् भने करिब ९३ करोड रुपैयाँको सेयर बिक्री गरेका छन् ।
तर, यस अवधिभर उनले ब्रोकर कम्पनीलाई कुनै पनि रकम भुक्तानी नगरेको खुलेको छ ।
यसरी करिब २ अर्ब ८९ करोड रुपैयाँ बराबरको बक्यौता अझै बाँकी रहेको उल्लेख गरिएको छ ।
जाँचबुझले देखाएको अनुसार ब्रोकर कम्पनीहरूले आफ्ना अन्य ग्राहकहरूको रकम प्रयोग गरी भट्टको कारोबार मिलान (राफसाफ) गरेका थिए ।
‘नेटिङ’ प्रणालीको दुरुपयोग गर्दै अन्य लगानीकर्ताको रकम प्रयोग गरेर अनियमितता गरिएको प्रतिवेदनमा औंल्याइएको छ ।






















