images
images
  • विमानस्थल–जहाज निल्ने १३४ उच्चपदस्थ कर्मचारी अख्तियारको फन्दामा, पक्राउ पर्नेक्रम जारी

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला चार वर्षमा मुख्यसचिवदेखि सहसचिव तहसम्मका १३४ उच्च कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्मको अवधिमा ती मुद्दा विशेष अदालत मा दायर गरिएका हुन् ।

    आयोगका अनुसार सो अवधिमा १ लाख ६६ हजारभन्दा बढी उजुरी परेकामध्ये करिब ७३ प्रतिशत फर्स्योट गरिएको छ ।

    कुल ७९८ मुद्दा दायर भई ४,६६२ जनालाई प्रतिवादी बनाइएको छ भने ३१ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ ।

    मुद्दामध्ये औसतमा ५५ प्रतिशतमा कसुर स्थापित भएको छ ।

    कसुर नठहरिएका धेरै मुद्दामा आयोगले सर्वोच्च अदालतमा पुनरावलोकन माग गरेको छ, जसमा केहीमा मात्र दोष पुष्टि भएको छ ।

    आर्थिक वर्षअनुसार उजुरी, मुद्दा र प्रतिवादीको संख्या बढ्दो क्रममा देखिएको छ ।

    चालु आव २०८०/८१ मा मात्र ३६ हजारभन्दा बढी उजुरी परेका छन् र २०१ मुद्दा दायर भएका छन् ।

    मन्त्रालय, विभाग, प्राधिकरण, अस्पतालदेखि स्थानीय तहसम्म कार्यरत कर्मचारीहरू भ्रष्टाचार आरोपमा तानिएका छन् ।

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत राष्ट्रिय गौरवका आयोजना, वाइटबडी प्रकरणसमेत अनुसन्धानको दायरामा परेका छन् ।

    आयोगले राजनीतिक पदाधिकारी, जनप्रतिनिधि र अन्य सार्वजनिक पदधारीविरुद्ध पनि समानान्तर रूपमा मुद्दा चलाइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images