images
images
  • अन्य पार्टीबाट आएका नेताहरूको व्यवस्थापन कसरी गर्दैछ रास्वपा ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तरिम प्रकृतिको नयाँ संरचना ‘संघीय नेतृत्व मञ्च’ गठन गरेको छ ।

    अन्य दलबाट पार्टीमा प्रवेश गरेका तथा केन्द्रीय समितिमा अटाउन नसकेका नेताहरूलाई समायोजन गर्ने उद्देश्यले यो मञ्च स्थापना गरिएको हो ।

    उक्त मञ्चमा विभिन्न दलबाट आएका नेता, अभियन्ता तथा पार्टीमा नवप्रवेशी व्यक्तिहरूलाई समेट्ने योजना बनाइएको छ ।

    उपसभापति डा.स्वर्णिम वाग्ले को अवधारणामा यो संरचना अघि बढाइएको हो ।

    प्रवक्ता मनिष झाका अनुसार, महाधिवेशनसम्मका लागि मात्र लागू हुने अस्थायी संरचनाका रूपमा संघीय नेतृत्व मञ्च गठन गरिएको हो ।

    यद्यपि, पार्टीको विधानमा यस्तो मञ्चको व्यवस्था छैन ।

    विधानअनुसार केन्द्रीय तहमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय परिषद्, केन्द्रीय समिति, सल्लाहकार परिषद्, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा र विभाग गरी आठवटा संरचना मात्र मान्य छन् ।

    यस अर्थमा संघीय नेतृत्व मञ्च विधानबाहिरको व्यवस्था हो ।

    यो मञ्चको सुरुवात विशेषतः विवेकशील साझा दल बाट आएका नेताहरूलाई समायोजन गर्ने उद्देश्यले गरिएको थियो ।

    उक्त दलसँग एकता भएपछि १७ जना नेतालाई संघीय नेतृत्व मञ्चमा राखिएको थियो ।

    पछि तीमध्ये सात जना समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, रञ्जु दर्शना, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान र धनेज थापालाई केन्द्रीय समितिमा समेटिएको छ ।

    बाँकी १० जना अझै मञ्चमै छन् ।

    यसैगरी, उज्यालो नेपाल पार्टीबाट आएका केही नेताहरूलाई पनि मञ्चमा समावेश गरिएको छ ।

    तीमध्ये डा.तारा जोशी डडेलधुराबाट निर्वाचित सांसद हुन् भने रिमा विश्वकर्मा समानुपातिक सांसद बनेकी छन् ।

    हालै केन्द्रीय समितिको बैठकले थप आठ जनालाई मञ्चमा मनोनीत गरेको छ, तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, हरिशरण आचार्य, प्रेमा चौधरी, नवराज राना, राजेन्द्रबहादुर अधिकारी र एकराज चौधरी ।

    यससँगै मञ्चको सदस्य संख्या २५ पुगेको छ ।

    तर, मञ्चमा रहेका सदस्यहरूको भूमिका, जिम्मेवारी र अधिकार भने अझै स्पष्ट गरिएको छैन ।

    मञ्चका एक सदस्यका अनुसार अहिलेसम्म यसको बैठकसमेत बसेको छैन र केन्द्रीय नेतृत्वसँग औपचारिक छलफल पनि भएको छैन ।

    प्रवक्ता झाले भने मञ्चका सदस्यहरूलाई आवश्यक पर्दा केन्द्रीय समितिको बैठकमा आमन्त्रित सदस्यका रूपमा बोलाएर सुझाव लिन सकिने बताए ।

    उनले महाधिवेशनपछि प्रतिस्पर्धाबाट निर्वाचित हुनेहरू मात्रै केन्द्रीय समितिमा रहने स्पष्ट पारे ।

    रास्वपाको विधानअनुसार १२९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था भए पनि हालसम्म पूर्णता पाएको छैन ।

    विभिन्न समूहसँगको एकीकरणपछि केन्द्रीय समितिको आकार ९२ सदस्यीय रहेको छ ।

    सबै नवप्रवेशीलाई केन्द्रीय समितिमा समावेश गर्न सम्भव नभएकाले संघीय नेतृत्व मञ्चलाई वैकल्पिक व्यवस्थाका रूपमा अघि सारिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images