images
images
  • बिचौलीया दीपक भट्टले भृकुटीलाई ३ अर्ब ८० करोड तिर्न बाँकी

    काठमाडौं– दीपक भट्ट विरुद्ध उठेको धितोपत्र बजार दुरुपयोग प्रकरण थप गम्भीर बन्दै गएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको प्रारम्भिक जाँचबुझ तथा सुपरिवेक्षण प्रतिवेदन–२०८३ ले भट्टले उधारोमा ठूलो परिमाणमा सेयर कारोबार गर्दै त्यसमा संगठित रूपमा सहयोग भएको देखाएको छ।

    प्रतिवेदनअनुसार भट्टले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी मार्फत २०८२ साउन ५ देखि चैत १ सम्म ३ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको धितोपत्र खरिद गरे पनि सो रकम भुक्तानी गरेका छैनन्। तर, ब्रोकिङ्ग कम्पनीले भने अग्रिम रकम नलिई नै कारोबार राफसाफ (सेटलमेन्ट) गरेको भेटिएको छ।

    धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार कम्तीमा २५ प्रतिशत अग्रिम भुक्तानी अनिवार्य भए पनि भट्टले नबिल डिबेन्चर २०८५, नेपाल एसबीआई बैंक डिबेन्चर २०८३ लगायत विभिन्न डिबेन्चर तथा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड का सेयरमा यस्तो नियम उल्लंघन गर्दै कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदनले भृकुटी स्टक ब्रोकिङ्गले लगानीकर्ताबाट धितोबापत संकलन गरिएको रकम अलग्गै राख्नुपर्ने नियमविपरीत त्यसैलाई अन्य कारोबार मिलाउन प्रयोग गरेको पनि औंल्याएको छ। अझ गम्भीर रूपमा, भट्टले आफ्नै सेयरको भुक्तानी नगरी अन्य ग्राहकहरूको रकम प्रयोग गरी सेटलमेन्ट मिलाइएको तथ्य फेला परेको छ।

    अनुसन्धानले हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लगायत संस्थासँगको समन्वयमा नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य कृत्रिम रूपमा बढाउने योजना बनाइएको निष्कर्ष निकालेको छ।

    यस योजनाअनुसार बजारमा वास्तविक माग नभए पनि ठूलो कारोबार देखाएर साउन ५ मा १,४६१ रुपैयाँ रहेको सेयर मूल्य भदौ १० सम्म १,६८६ रुपैयाँ १० पैसा पुर्‍याइएको उल्लेख छ। यसलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९६ र ९८ अन्तर्गतको कसुर मानिएको छ।

    प्रतिवेदनले उक्त कार्यमा हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड लगायत संस्थाको समेत संलग्नता रहेको संकेत गरेको छ।

    त्यसैगरी, शुभी अग्रवाल ले पनि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी को सेयर कारोबार गर्दा ६२ करोड रुपैयाँभन्दा बढी भुक्तानी नगरेको खुलेको छ। अग्रिम रकम नतिरे पनि लामो समयसम्म कारोबार गर्न दिइएको देखिएको छ।

    अझै चकित पार्ने तथ्य के छ भने भट्ट र सम्बद्ध समूहका आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरूको अनलाइन ट्रेडिङ प्रणाली (टीएमएस) समेत एउटै व्यक्तिले सञ्चालन गर्ने गरेको अनुसन्धानले देखाएको छ, जसले बजारमा संरचनागत जोखिम र नियामकीय कमजोरी दुवै उजागर गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images