images
images
  • काल्सबर्गका नेपाल साझेदार राजबहादुर शाह एक अर्बको घोटाला

    काठमाडौं । बहुराष्ट्रिय कम्पनी काल्सबर्गसँग सम्बन्धित नेपालका साझेदार तथा चर्चित व्यवसायी राजबहादुर शाह सेयर बजारमा भएको कथित घोटाला प्रकरणमा तानिएका छन् ।

    धितोपत्र बोर्डले गरेको विस्तृत अध्ययनले शाहले अर्का व्यवसायी दीपक भट्टसँगको समन्वयमा सेयर बजारमा अनियमित र शंकास्पद कारोबार गरेको निष्कर्ष निकालेको छ ।

    बोर्डले सोही आधारमा शाहविरुद्ध दुई वर्षसम्म कैद सजाय हुन सक्ने गरी कारबाही सिफारिस गरेको जनाएको छ ।

    नेपालको मदिरा उद्योगमा प्रभावशाली उपस्थिति बनाएका शाह उच्च करदातामध्ये पनि अग्रपंक्तिमा गनिन्छन् ।

    हालै मात्र गोर्खा ब्रुअरीमार्फत काल्सबर्गसँग आबद्ध भएका उनी कम्पनीको सञ्चालक समितिका अध्यक्षसमेत हुन् ।

    गोर्खा ब्रुअरीले राज ब्रुअरी अधिग्रहण गरेपछि उनको प्रवेश भएको हो ।

    प्रारम्भमा ८ प्रतिशत रहेको उनको सेयर स्वामित्व पछि १५ प्रतिशतसम्म पुर्‍याउने सहमति भएको बताइन्छ ।

    अनुसन्धानमा शाह उधारो (क्रेडिट) कारोबारमा व्यापक रूपमा संलग्न रहेको समेत देखिएको छ ।

    उपलब्ध विवरणअनुसार उनले धितोपत्र दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङ प्रालिलाई ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा भुक्तानी गर्न बाँकी रहेको छ ।

    उक्त रकम उनले २०८२ साउन २१ गतेदेखि अहिलेसम्म नतिरेको पाइएको छ ।

    saha

    यसबीच पनि उनले निरन्तर उधारोमा सेयर खरिद गरेको देखिएको छ ।

    उदाहरणका लागि, २०८२ असार २३ गतेदेखि साउन ४ गतेसम्म उनले नेपाल रिइन्स्योरेन्स कम्पनीको १० लाख ५१ हजार २०४ कित्ता सेयर विभिन्न मूल्यमा कुल १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९३७ रुपैयाँ ९५ पैसामा खरिद गरेका थिए ।

    जसमध्ये उनले केवल ५२ करोड ५० लाख रुपैयाँ मात्र भुक्तानी गरेका छन् भने बाँकी रकम अझै तिर्न बाँकी छ ।

    अध्ययनले देखाउँछ कि शाहले अग्रिम रकम जम्मा नगरी ब्रोकरमार्फत कारोबार सीमा प्राप्त गरेका थिए र पूर्ण भुक्तानी नगरे पनि सेयर आफ्नो खातामा राखिएको थियो ।

    यसरी गरिएको कारोबारले बजारमा कृत्रिम माग सिर्जना गर्दै मूल्य वृद्धि गराउन भूमिका खेलेको निष्कर्ष निकालिएको छ ।

    chart

    त्यस्तै, उनले हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख २५ हजार १११ कित्ता सेयर १६ करोड ५६ लाख ९२ हजार ९८२ रुपैयाँ ६० पैसामा खरिद गरेका छन् ।

    साथै, शुभी अग्रवालको नाममा रहेको ३ लाख ९ हजार ९३६ कित्ता सेयर ४० करोड ७३ लाख १३ हजार ८९८ रुपैयाँ ७० पैसामा खरिद गरेको विवरण पनि सार्वजनिक भएको छ ।

    शाहले दीपक भट्टकै शैलीमा अग्रिम भुक्तानीबिना कारोबार सीमा प्रयोग गरी सेयर खरिद गरेको र भुक्तानी नगर्दै सेयर आफ्नो खातामा स्थानान्तरण गराएको पाइएको छ ।

    यसले सेयर मूल्यलाई कृत्रिम रूपमा उचाल्दै लगानीकर्तालाई भ्रमित बनाउने काम भएको ठहर गरिएको छ ।

    धितोपत्र बोर्डले शाहले भृकुटी स्टक ब्रोकिङसँगको मिलेमतोमा धितोपत्रको मूल्य कृत्रिम रूपमा बढाएको निष्कर्ष निकालेको छ ।

    यस कार्यले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ (बजार प्रभावित पार्ने कार्य) र दफा ९८ (जालसाजीयुक्त कारोबार) उल्लंघन गरेको देखिएको छ ।

    उक्त ऐनको दफा १०१ अनुसार, यस्तो कसूरमा जरिवाना तथा कैद सजायको व्यवस्था छ ।

    दफा ९६ अन्तर्गत ५० हजारदेखि १ लाख ७५ हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

    दफा ९८ अनुसार भने १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।

    साथै, पीडितलाई भएको क्षति पनि भरपाई गराउनुपर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images