काठमाडौं– गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्ट, नेपालले नेपाल प्रहरीमा औपचारिक उजुरी दिएको छ ।
मंगलबार मुभमेन्टका प्रवक्ता विजय शाहले प्रहरी प्रधान कार्यालयमा निवेदन दर्ता गराएका हुन् ।
प्रहरी महानिरीक्षकलाई सम्बोधन गरिएको उक्त निवेदनमा गृहमन्त्री गुरुङलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरिएको छ ।
जेनजी मुभमेन्टले आफ्नो निवेदनमा तीनवटा आधार प्रस्तुत गरेको छ ।
पहिलो, तथ्यगत आधार प्रस्तुत गर्दै मुभमेन्टले २०८३ वैशाख ६ गते जारी प्रेस वक्तव्यमा गुरुङमाथि गम्भीर आरोप सार्वजनिक भइसकेको उल्लेख गरेको छ ।
पदमा बहाल रहेर आफ्नै विरुद्ध छानबिन प्रक्रिया अघि बढाउनु ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ को स्पष्ट उदाहरण भएको दाबी गरिएको छ ।
साथै, पदमा रहँदा आफ्नै विरुद्ध निष्पक्ष अनुसन्धान सम्भव नहुने भन्दै यो अवस्था प्रचलित कानुन र आधारभूत कानुनी सिद्धान्त विपरीत भएको उल्लेख गरिएको छ ।
दोस्रो, कानुनी आधारमा मुभमेन्टले मुलुकी फौजदारी संहिताअनुसार गम्भीर आरोप लागेका व्यक्तिमाथि निष्पक्ष अनुसन्धानका लागि तत्काल पक्राउ गर्न सकिने व्यवस्था रहेको जिकिर गरेको छ ।
पदमा बसेर अनुसन्धान प्रभावित पार्ने कार्यले ‘इभिडेन्स ट्याम्परिङ’ र ‘अब्सट्रक्सन अफ जस्टिस’ जस्ता फौजदारी कसुरको अवस्था सिर्जना गर्न सक्ने पनि निवेदनमा उल्लेख गरिएको छ ।
तेस्रो, राजनीतिक आधार प्रस्तुत गर्दै मुभमेन्टले गुरुङले नै जेनजी आन्दोलनलाई हिंसात्मक बनाएको आरोप लगाएको छ ।
पानी वितरणको नाममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने बहानामा आन्दोलनलाई ‘हाइज्याक’ गरी हिंसात्मक बनाइएको र राज्यविहीनताको अवस्था सिर्जना गर्न खोजिएको आरोप लगाइएको छ ।
यस्तै, आन्दोलनको दुरुपयोग गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको, पद प्राप्तिका लागि बिचौलिया तथा दलालसँग साँठगाँठ गरेको आरोप पनि मुभमेन्टले लगाएको छ ।
यस्तो कार्यले आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ सहिद तथा घाइतेप्रति गम्भीर अपमान भएको दाबी गरिएको छ ।
यी सबै आधार प्रस्तुत गर्दै गृहमन्त्री गुरुङलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न, साथै अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ ।
प्रवक्ता शाहका अनुसार उक्त निवेदन नेपाल प्रहरी ऐन, २०१८ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम दर्ता गरी आवश्यक कारबाही अघि बढाउन अनुरोध गरिएको छ ।
उक्त निवेदनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगमा समेत पठाइएको जनाइएको छ ।






















