images
images
  • रास्वपा सभापति रविको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ कहिले ?

    काठमाडौं– रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइका लागि वैशाख १० गते पेसी तोकिएको छ ।

    सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिट पूर्ण इजलासमा पेश हुने भएको छ ।

    यसअघि चैत १५ गते न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्दालाई सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो, तर सुनुवाइको मिति भने तोकिएको थिएन ।

    मिति निर्धारण नभएपछि कानुनका विद्यार्थी आयुष बडालले पेसी तोकी यथाशीघ्र सुनुवाइ गर्न माग गर्दै निवेदन दिएका थिए ।

    उक्त इजलासले आठवटा कानुनी प्रश्नहरूको व्याख्या आवश्यक रहेको ठहर गर्दै पूर्ण इजलासमा पठाएको हो ।

    पूर्ण इजलासमा तीन वा सोभन्दा बढी न्यायाधीशहरू सहभागी हुन्छन् ।

    सबिता भण्डारीले पुस ३० गते लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेकी थिइन् ।

    त्यसको केही दिनपछि, माघ २ गते ‘त्रुटि सच्याइएको’ भन्दै सबै प्रतिवादीविरुद्धको उक्त अभियोग संशोधनका लागि निकास दिइएको थियो ।

    यस निर्णयमा फरार रहेका जिबी राईसहित अन्य प्रतिवादीहरू पनि समेटिएका थिए ।

    महान्यायाधिवक्ताको उक्त निर्णयपछि सर्वोच्च अदालतमा तीन वटा रिट निवेदन दायर भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images