यसैबीच, अमरेशकुमार सिंहले उक्त मन्त्रालयको जिम्मेवारी अस्वीकार गरेको दाबी गरिएपछि प्रधानमन्त्री बालेन्द्र शाहका निकट मानिने प्यूठानका सांसद सुशान्त बैदिक केही समयका लागि मन्त्रालयमा सक्रिय देखिएका थिए। उनी औपचारिक नियुक्ति नपाईकनै मन्त्रीसरहको भूमिका निर्वाह गरेको चर्चा पनि राजनीतिक वृत्तमा उठेको छ।
मन्त्रालयभित्रै दैनिक रूपमा उपस्थित हुने, कर्मचारीहरूसँग छलफल गर्ने तथा निर्देशन दिने जस्ता गतिविधिका कारण सुशान्त बैदिकलाई ‘भावी मन्त्री’को रूपमा पनि हेरिएको स्रोतहरूको दाबी छ। यद्यपि, उनको यस्तो भूमिका कानुनी रूपमा औपचारिक नभएको भन्दै प्रशासनिक वृत्तमा विभिन्न टिप्पणीहरू समेत आएका थिए।
तर पछिल्लो राजनीतिक निर्णयअनुसार उक्त मन्त्रालयको जिम्मेवारी अन्ततः गौरीकुमारी यादवलाई दिइएको हो। नियुक्तिपछि उनले सपथ ग्रहणसँगै मन्त्रालयमा कार्यभार सम्हालेकी थिइन्।
मन्त्रालय सम्हाल्ने क्रममा प्रारम्भिक दिनहरूमा उनले कर्मचारीसँगको छलफल तथा निर्देशन प्रक्रियामा केही कडा शैली अपनाएको कर्मचारी स्रोतहरूको भनाइ छ। मन्त्रालयभित्र अनुशासन र कार्यसम्पादन सुधारका विषयमा उनले चासो देखाएको पनि बताइन्छ।
यसैबीच, मन्त्री यादवले निजी सचिवालय व्यवस्थापनमा केही परिवर्तन गरेकी छन्। स्रोतका अनुसार, कम्पनी रजिष्ट्रार कार्यालयबाट आएका उपसचिव सन्ध्या सिग्देललाई निजी सचिवको रूपमा खटाइएको छ भने पूर्व उद्योग मन्त्री अनिलकुमार सिन्हाका निजी सचिव सरोज पोखरेललाई स्थानीय तहमा सरुवा गरिएको छ।
मन्त्री यादवले हालसम्म स्वकीय सचिवको औपचारिक नियुक्ति भने नगरेको बताइएको छ।
मन्त्रालयमा भएका यी परिवर्तन र गतिविधिहरूलाई लिएर राजनीतिक तथा प्रशासनिक वृत्तमा विभिन्न कोणबाट चर्चा भइरहेको छ।