काठमाडौं– नेकपा (एमाले)ले पार्टीको आगामी स्थापना दिवसका लागि तयार पारेको ब्यानरमा यसपटक संस्थापक नेताहरूको मात्र तस्वीर समावेश गरिएको छ ।
महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल श्रेष्ठसहितका संस्थापक नेताहरूको तस्वीर राखिएको भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्वीर भने समावेश गरिएको छैन ।
यसअघि एमालेले आयोजना गर्ने यस्ता कार्यक्रमका ब्यानरमा ओलीको तस्वीर अनिवार्यजस्तै राखिँदै आएको थियो ।
यसपटकको तयारीलाई लिएर पार्टीभित्र विभिन्न अड्कलबाजी सुरु भएका छन् ।
स्रोतका अनुसार भोलि मनाइने स्थापना दिवसमा अध्यक्ष ओलीको उपस्थिति हुने नहुनेबारे समेत अझै निश्चित भइसकेको छैन ।
‘केही नेताहरूको सम्बोधनसहित सामान्य रूपमा स्थापना दिवस मनाउने तयारी छ, तर वक्ताहरूको टुंगो भने लागिसकेको छैन,’ एमाले स्रोतले जनाएको छ ।
अघिल्ला वर्षहरूमा एमालेले स्थापना दिवसलाई भव्य कार्यक्रमका रूपमा मनाउँदै आएको थियो भने यसपटक भने तुलनात्मक रूपमा सादा कार्यक्रम हुने संकेत देखिएको छ ।






















