काठमाडौं– कुख्यात बिचौलियाको रूपमा चर्चित तथा हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टसँग सम्बन्धित गैरकानूनी धितोपत्र कारोबार प्रकरणमा प्रमुख व्यवसायिक घराना गोल्छा अर्गनाइजेशन पनि जोडिएको तथ्य सार्वजनिक भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनअनुसार नेपाल धितोपत्र बोर्डद्वारा गठित छानबिन समितिले भट्टद्वारा गरिएको धितोपत्र खरिद–बिक्रीको विस्तृत सुपरीवेक्षण गरेपछि उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासहित विभिन्न व्यक्ति तथा संस्थाहरूलाई जिम्मेवार देखाइएको हो ।
छानबिन प्रतिवेदनअनुसार भृकुटी स्टक ब्रोकिङ कम्पनीले दीपक भट्टबाट प्राप्त रकमको व्यवस्थापनमा अनियमितता गरेको, साथै सम्बन्धित कम्पनी तथा तिनका सञ्चालकलाई भुक्तानी गर्नुपर्ने रकम नदिई सोही रकमबाट धितोपत्रको राफसाफ गरिएको देखिएको छ ।
यस प्रकरणमा भट्टसँगै भृकुटी स्टकका कार्यकारी प्रमुख सन्दीप चाचानलाई पनि दोषी ठहर गरिएको छ। त्यस्तै, शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहलाई समेत आरोपित बनाइएको छ ।
छानबिन समितिले “कसूर गर्न सहयोग गर्ने व्यक्ति तथा संस्था” को सूचीमा शेखर गोल्छासहित हिमालयन रिइन्स्योरेन्स लिमिटेड, हिमालयन क्यापसर्भ, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड तथा रोहित गुप्तालाई समेत कारबाहीको दायरामा समेटेको उल्लेख गरिएको छ ।






















