काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएको एक महिना नपुग्दै मन्त्रीहरू लगातार विवादमा तानिएका छन् ।
चैत १३ मा बनेको सरकारका श्रममन्त्री दीपक साहले दुई सातामै पद गुमाए भने स्वास्थ्यमन्त्री निशा मेहता पार्टीबाट सचेत गरिएकी छन् ।
सबैभन्दा गम्भीर विवाद गृहमन्त्री सुधन गुरुङसँग जोडिएको छ ।
उनी सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग सेयर साझेदारी लुकाएको आरोपमा आलोचित छन् ।
‘स्टार माइक्रो इन्स्योरेन्स’मा गुरुङको लगानी सम्पत्ति विवरणमा नखुलाएको भन्दै नैतिक प्रश्न उठेको छ ।
गुरुङले भने आरोप अस्वीकार गर्दै अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।
उनले सेयर लगानीलाई वर्गीकरणको विषय मात्र भएको दाबी गरेका छन् ।
यसबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा (एमाले)ले निष्पक्ष छानविनको माग गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको स्पष्ट धारणा मागेको छ ।
‘जेनजी’ समूहले भने गृहमन्त्रीलाई बर्खास्त गर्न दबाब दिएको छ ।






















