काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा बिचौलिया दिपक भट्टसँग जोडिएको विवादका बीच पनि गृहमन्त्री सुधन गुरुङ सम्बन्धी विषयमा कुनै औपचारिक छलफल भएन ।
यसअघि बालेन्द्र शाह नेतृत्वको सरकारमा श्रममन्त्री रहेका दीपककुमार साहलाई बिना स्पष्टीकरण मन्त्री पदबाट फिर्ता बोलाएको रास्वपाले, अहिले भने विवादित सेयर प्रकरण र बिचौलिया भट्टसँगको सम्बन्धका आरोप खेपिरहेका सांसदसमेत रहेका गृहमन्त्री गुरुङबारे मौनता अपनाएको देखिएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा प्रवक्ता झाले गृहमन्त्री गुरुङको विषयमा कुनै निर्णय नभएको स्पष्ट पारे । उनका अनुसार उक्त विषय बैठकको एजेन्डामै समावेश नभएकाले छलफल हुन सकेन ।
उनले भने, ‘यदि रिपोर्टिङमा औपचारिक रूपमा विषय उठाइएको भए, सम्बन्धित नेता तथा पदाधिकारीले जवाफ दिनुपर्ने अवस्था हुन्थ्यो। तर अहिले त्यो प्रसंग नआएकाले छलफल बाँकी नै छ ।’
प्रवक्ता झाका अनुसार पार्टीभित्र आवश्यक प्रक्रिया, नजिर र समन्वयका आधारमा भविष्यमा यस विषयमा छलफल हुन सक्ने संकेत गरिएको छ ।
यसैबीच, पार्टी सभापति रवि लामिछानेले पनि हालको अवस्थामा हतारमा निष्कर्षमा पुग्ने समय नभएको धारणा राखेका छन्, ‘हरेक निर्णय बैठकमै आउनुपर्छ भन्ने छैन । अहिलेका लागि मूल्यांकन गरेर निष्कर्ष निकाल्ने समय आएको छैन,’ उनले भनेका थिए ।
रास्वपाको यो मौनताले पार्टीभित्रै दोहोरो मापदण्डको प्रश्न उठ्न थालेको छ, एकातिर बिना स्पष्टीकरण मन्त्री हटाउने, अर्कोतिर गम्भीर आरोप लागेका गृहमन्त्रीबारे छलफलसमेत भएन ।
यद्यपि सभापति रवि लामिछाने एकपटक स्पष्टीकरण सोध्ने पक्षमा छन् भने प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ हटाउनै पर्ने दाउमा छन् ।






















