काठमाडौं- स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा शेयर लगानी गर्नु सुधन गुरुङको व्यक्तिगत अधिकार हो र उनले गरेको लगानी कानुनसम्मत गरेको देखिएकोले अन्यथा मान्ने अवस्था छैन ।
तर सुधन गुरुङले हिजो सार्वजनिक गरेको स्पष्टिकरण पत्रले गृहमन्त्री गुरुङले घुस खुवाएर स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर किनेको तथ्य भने लुकाउन सकेनन् ।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ऋण लिएको कपाली तमसुक सम्बन्धी विवरणमा स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमा कूल २५ हजार कित्ता शेयर लिनको लागि ३७ लाख ५० हजार रुपैयाँ ऋण लिएको उल्लेख छ ।
१०० रुपैयाँ मूल्य अंकित २५ हजार कित्ता शेयरका लागि कूल लागत पनि २५ लाख नै हुनुपर्ने थियो ।
तर, उक्त दुई कम्पनीमा शेयर लिने कित्ता संख्या समेत उल्लेख गरेर लिइएको ऋणमा १२ लाख ५० हजार रुपैयाँ बढी देखिएको छ ।
२०८० साल साउन २१ गते स्थानीय वडा कार्यालयमा प्रमाणिकरण गरेरै लिएको ऋणमा गुरुङले सम्पत्तिको स्रोतको रुपमा ऋण नै देखाइएको छ ।
ऋण लिएको हदसम्म र सम्पत्तिको स्रोतको हदसम्म उक्त तथ्य वास्तविक नै देखिएको । र अन्यथा मान्न मिल्ने अवस्था छैन ।
तर, लिन खोजेको शेयरको कित्ता संख्या र कूल ऋण लिएको रकमको हिसाब गर्दा प्रतिकित्ता ५० रुपैयाँ बढी रकम ऋण लिएको देखिएको छ ।
सो रकम बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य सिलवाललाई घुस खुवाउन प्रयोग गरेको विश्वास गरिएको छ ।
यद्यपि सो बारे गृहमन्त्री गुरुङले केही उल्लेख गरेका छैनन् ।

गृहमन्त्री सुधन गुरुङको स्पष्टिकरण पत्रले स्टार माइक्रको इन्स्योरेन्स कम्पनीलाई लघुबीमाको लाइसेन्स दिँदा तत्कालिन बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले घुस सेटिङ गरेको तथ्य स्थापित हुन आएको छ ।
तत्कालिन अध्यक्ष सिलवालले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँगको घुस सेटिङमा २०७९ सालको माघमा निर्वाचन भइरहेका बेला ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेका थिए ।
तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न अख्तियारमा उजुरी परेको भएपनि कुनै सुनुवाई भएको थिएन ।
अहिले सुधन गुरुङ आफै गृहमन्त्री छन् ।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनीसहितका लघुबीमाको लाइसेन्स वितरणमा व्यापक भ्रष्टाचार गरी सुर्य सिलवालले घोटाला गरी इमाडोलमा रहेको डाउनटाउन हाउजिङमा घर किनेको सम्बन्धमा पनि छानविन हुने सम्भावना देखिएको छ ।
भ्रष्टाचारीमाथि शून्य सहनशिलता अपनाउने गृहमन्त्री गुरुङले आफैलाई ठग्ने सिलवालमाथि कस्तो कारवाही गर्छन प्रतिक्षाको बिषय बनेको छ । -बिमापोष्टबाट






















