काठमाडौं– सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोगमा थुनामा रहेका बिचौलिया दीपक भट्टसँगको लगानी साझेदारी सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङ विवादको केन्द्रमा परेका छन् ।
प्रहरी हिरासतमा रहेका भट्ट तथा विवादास्पद शंकर अग्रवाल समूहको लगानी रहेको ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’मा गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको तथ्य बाहिरिएपछि उनीमाथि राजीनामाको दबाब तीव्र भएको हो ।
प्रकरण सार्वजनिक भएलगत्तै रवि लामिछानेको सचिवालयले गुरुङलाई बुढानिलकण्ठ बोलाएको खुलेको छ । आइतबार राति नै गुरुङ लामिछाने निवास पुगेका थिए ।
भेटका क्रममा लामिछानेले भट्टसँगको सम्बन्ध, लगानीको स्रोत र समग्र विवादबारे गुरुङसँग स्पष्ट जवाफ मागेका थिए । स्रोतका अनुसार उनले भनेका थिए, ‘यस विषयमा म व्यक्तिगत रूपमा केही बोल्दिनँ । कुरा सार्वजनिक भइसकेको छ, अब पार्टीले हेर्छ । अनुशासन समितिले काम गर्ला, आवश्यक परे अन्य समिति पनि बन्न सक्छ । तर, आरोप लागेपछि चित्तबुझ्दो जवाफ दिनैपर्छ ।’
लामिछानेले निष्पक्ष छानबिनको वातावरण बनाउन गुरुङलाई राजीनामाबारे समेत विचार गर्न सुझाव दिएका थिए । उनले भने, ‘तपाईंले उठाउनुभएको सुशासनको एजेन्डा महत्वपूर्ण छ । तर, तपाईंमाथि नै यति धेरै प्रश्न उठेपछि स्पष्टता आवश्यक हुन्छ । अनुसन्धानलाई सहज बनाउन केही समय पदबाट बाहिरिनुपर्ने हुन सक्छ, त्यसबारे सोच्नुस् ।’
जवाफमा गुरुङले भट्टसँगको सम्बन्धलाई सामाजिक कार्यसँग जोडिएको बताएका छन् । ‘हामी नेपाल’मार्फत संस्थागत रूपमा चिनजान भएको तर व्यक्तिगत निकटता नरहेको उनले दाबी गरेका छन् । शेयर लगानीबारे कानुनी जानकारीको अभाव भएको स्वीकार्दै उनले जानाजानी कुनै गलत कार्य नगरेको स्पष्ट पारे ।
लामिछानेले अन्तिम निर्णय पार्टीले गर्ने र सबैले त्यसलाई मान्नुपर्ने बताएका छन् । ‘यदि निर्दोष प्रमाणित हुनुभयो भने फेरि स्थापित हुन समय लाग्दैन । राजनीतिमा यस्ता उतारचढाव आउँछन्,’ भन्दै उनले गुरुङलाई सान्त्वना दिएका थिए ।
गुरुङले पनि पार्टीको निर्णय आफूले सहज रूपमा स्वीकार गर्ने बताएका छन् । लामिछानेलाई भेटेर फर्किएपछि उनी आफ्ना निकटस्थहरूसँग आन्तरिक छलफलमा जुटेका छन् ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदहरूले सोमबार सभापति लामिछानेसँग छलफल गरेका छन् । स्रोतका अनुसार, गुरुङमाथि लगातार प्रश्न उठिरहेकाले तत्काल राजीनामा दिँदा पार्टीमाथि परेको दबाब कम हुनसक्ने सुझाव उनीहरूले दिएका छन् ।






















