काठमाडौं– गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार राति भेटेर आफ्नो सम्पत्ति र सेयर लगानीबारे स्पष्टीकरण दिएका छन् ।
भट्ट समूहसँग जोडिएका लघु बिमा कम्पनीहरूमा ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर लगानी गरेको विषय बाहिरिएपछि गृहमन्त्रीमाथि प्रश्न उठेको थियो ।
साथै उनले सम्पत्ति विवरणमा उक्त सेयर उल्लेख नगरेको भन्दै पनि आलोचना भइरहेको छ ।
यसै विषयमा सभापति लामिछानेले गृहमन्त्री गुरुङलाई निवासमै बोलाएर सोधपुछ गरेका थिए ।
भेटमा गुरुङले आफ्नो लगानी वैध आयबाट गरिएको दाबी गर्दै बैंकिङ कागजात पनि देखाएको बताइएको छ ।
पार्टीभित्र यसबारे अनुशासन आयोगले थप अध्ययन गरिरहेको छ भने सोमबार केन्द्रीय समिति बैठकमा पनि छलफल हुने बताइएको छ ।
गृहमन्त्रीको सचिवालयले भने सबै आरोपको स्पष्ट जवाफ दिइने र कुनै कानुनी त्रुटि नभएको दाबी गरेको छ ।






















