काठमाडौं– ‘जान्नेलाई छान्ने’ नारा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बनेकाहरू एकपछि अर्को विवादमा तानिन थालेका छन् ।
सरकार गठन भएको एक महिनाभित्रै तीन जना मन्त्री विवादमा मुछिएका छन्, जसमा एक जनाले पद गुमाइसकेका छन् भने एक जनालाई सचेत गराइएको छ ।
विवादका कारण पद गुमाउनेमा तत्कालीन श्रममन्त्री दीपक साह रहेका छन् भने स्वास्थ्य मन्त्री निशा मेहतालाई पार्टीले नसियतस्वरूप सचेत गराएको छ ।
यी दुईको विवाद सेलाउन नपाउँदै गृहमन्त्री सुदन गुरुङ पनि नयाँ विवादमा तानिएका छन् ।
गुरुङ यसअघि फेवाताल जग्गा प्रकरणमा पनि मुछिएका थिए, तर त्यो विषय पछि सेलाएको थियो ।
गृहमन्त्री बनेपछि उनले उच्चस्तरीय पक्राउ अभियान चलाउँदै चर्चामा आएका थिए, जसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वगृहमन्त्री रमेश लेखक र बिचौलिया दीपक भट्टसम्म पक्राउ परेका थिए ।
तर, अहिले उनै भट्टसँगको व्यवसायिक सम्बन्ध सार्वजनिक भएपछि गुरुङमाथि नैतिक प्रश्न उठेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका दीपक भट्टसँग गुरुङको सम्बन्ध र ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ मा साझेदारी रहेको विवरण बाहिरिएको छ ।
सो कम्पनीमा गुरुङको करिब २५ लाख रुपैयाँ सेयर रहेको देखिए पनि उनले आफ्नो सम्पत्ति विवरणमा उक्त लगानी उल्लेख नगरेको आरोप छ ।
रास्वपा नेताहरूका अनुसार यो प्रकरण अघिल्ला विवादभन्दा गम्भीर हुन सक्ने संकेत देखिएको छ ।
पार्टीका अन्य मन्त्रीहरू पनि विभिन्न आरोप–प्रत्यारोपमा तानिँदै आएका छन् ।
यसअघि श्रममन्त्री दीपक साहलाई पार्टीले फिर्ता बोलाएपछि प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई पदमुक्त गरेका थिए भने स्वास्थ्य मन्त्री मेहतालाई सचेत गराइएको थियो ।






















