काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग जोडिएको चर्चित प्रकरणमा बिचौलिया दीपक भट्ट पक्राउ परेपछि उनको सञ्जालसँग सम्बन्धित व्यापारी तथा व्यवसायीहरूबीच त्रास फैलिएको छ । विशेषगरी, शेखर गोल्छासँग उनको कनेक्सन देखिएको भन्दै अनुसन्धानको दायरा अझ फराकिलो बन्दै गएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा केन्द्रीय अनुसन्धान ब्यूरोले भट्टलाई नियन्त्रणमा लिएपछि हिमालयन रि–इन्स्योरेन्ससँग जोडिएका वित्तीय कारोबारमाथि गम्भीर प्रश्न उठेका छन् । सोही प्रकरणमा अनुसन्धान सुरु भएसँगै कम्पनीका संस्थापक अध्यक्ष गोल्छाले पदबाट राजीनामा दिएका थिए । राजीनामापछि उनी परिवारसहित विदेश भ्रमणमा गएको र इन्टरपोलमार्फत रेड कर्नर नोटिसको तयारीको संकेत पाएपछि नेपाल फर्किएको स्रोतको दाबी छ ।
गोल्छामाथि आफू अध्यक्ष रहेको बेला कम्पनीको रकम गैरकानुनी रूपमा व्यक्तिगत खातामा सारेर सम्पत्ति शुद्धीकरणमा सहयोग गरेको आरोप लागेको छ । साथै, भट्टलाई दोस्रो बजारमार्फत सेयर खरिद गर्न सहयोग पुर्याएको र कम्पनीकै बोर्डबाट विवादास्पद निर्णय गराएको आरोप पनि अनुसन्धानमा उठाइएको छ ।
सम्पत्ति शुद्धीकरणको छानबिनमा तानिएपछि उनले ०८२ फागुन २५ गते राजीनामा दिएका थिए, जुन चैत ५ गते बसेको बोर्ड बैठकले स्वीकृत गरिसकेको छ । विभागले उनको एक चरणको बयान लिइसकेको छ भने थप सोधपुछका लागि पुनः बोलाउने तयारी भइरहेको जनाइएको छ ।
अनुसन्धानमा संलग्न स्रोतहरूका अनुसार गोल्छा अहिले अनुसन्धानलाई प्रभावित पार्न राजनीतिक तहमा लबिङमा सक्रिय छन् । तर, अधिकारीहरू भने यसपटकको अनुसन्धान अघिल्ला जस्तो नहुने दाबी गर्दै कुनै पनि ‘सोर्सफोर्स’ काम नलाग्ने स्पष्ट पारिरहेका छन् ।
यो प्रकरण पहिलो पटक २०७८ असार २४ गते उजुरीका रूपमा सतहमा आएको थियो, जब विभिन्न विद्यार्थी संगठनहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । त्यसयता अख्तियार, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग र सीआईबीमार्फत बहुपक्षीय अनुसन्धान जारी छ ।
अनुसन्धानका क्रममा हिमालयन रिको करिब २ अर्ब २१ करोड रुपैयाँ भट्टको नाममा दोस्रो बजारमा सेयर खरिदका लागि प्रयोग भएको तथ्य बाहिरिएको छ । कानुनविद्हरूका अनुसार कुनै संस्थाले आफ्नो कोष व्यक्तिगत लगानीमा प्रयोग गर्नु गम्भीर कानुनी उल्लंघन हो ।
यसैबीच, जगदम्बा समूहसँग सम्बद्ध सुलभ अग्रवालको समेत संलग्नता देखिएको छ । स्रोतका अनुसार नेपालमा संकलित रकम अग्रवालको नाममा राख्ने र त्यसलाई भट्टमार्फत सिंगापुर, हङकङ र दुबईजस्ता मुलुकमा लगानी वा लुकाउने गरिएको प्रमाण फेला परेको दाबी गरिएको छ ।
गोल्छा, भट्ट, अग्रवाल लगायतको समूहले शेयर ‘कर्नरिङ’ गरेर मूल्य कृत्रिम रूपमा बढाउने र त्यसबाट नाफा बाँडफाँट गर्ने संरचना बनाएको समेत अनुसन्धानले संकेत गरेको छ ।
यता निजी क्षेत्रका केही प्रतिनिधिहरूले भने यस्ता ठूला व्यवसायिक घरानामाथि कारबाही भए अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिएका छन् । सोही दबाबका कारण यसअघि शंकर अग्रवाललाई थुनामुक्त गर्नुपरेको स्रोतको दाबी छ । भट्टसँग अग्रवाल परिवारको समेत निकट सम्बन्ध रहेको अनुसन्धानले देखाएको छ ।






















