images
images
  • मौसम पूर्वानुमान : पहाडी भेगमा वर्षा र हिमपात, तराईमा गर्मी

    काठमाडौं- नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

    यस मौसमी प्रणालीका कारण देशका विभिन्न भू-भागमा बदली, वर्षा र हिमपातको स्थिति सिर्जना भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ।

    सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका साथै कोशीको तराई भागमा पनि आंशिक बादल लागेको छ।

    यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ।

    देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहेको देखिन्छ।

    सोमबारको मौसम पूर्वानुमान हेर्दा कोशी प्रदेश लगायत अन्य पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ।

    तराईका भूभागमा पनि आंशिक बदलीको सम्भावना छ।

    कोशी र गण्डकीका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

    यता पहाडमा वर्षाको सम्भावना रहँदा तराई र बेसी क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ।

    मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरू, उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ।

    बढ्दो तापक्रम र तातो हावा चल्न सक्ने भएकाले यी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images