इस्लामाबाद— अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबादमा व्यापक सुरक्षा व्यवस्था कडा पारिएको छ।
वार्ता हुन सक्ने अनुमानसँगै प्रशासनले राजधानीका विभिन्न क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ भने संवेदनशील स्थानहरूमा कडाइ बढाइएको छ।
समाचार एजेन्सी एपी का अनुसार आइतबारदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यससँगै केही पर्यटकीय स्थलहरू बन्द गरिएका छन् र ठूला होटलहरूमा बुकिङ सेवा समेत रोक्न निर्देशन दिइएको छ, जसले सम्भावित कूटनीतिक गतिविधिलाई संकेत गरेको छ।
यद्यपि वार्ताबारे आधिकारिक घोषणा भने अझै गरिएको छैन।
तर अधिकारीहरूले आवश्यक सबै तयारी पूरा भइसकेको र छलफल चाँडै सुरु हुन सक्ने बताएका छन्।
सुरक्षा स्रोतहरूका अनुसार अमेरिकी अग्रिम सुरक्षा टोली पनि इस्लामाबाद पुगिसकेको छ।
यसअघि अमेरिका र इरानबीच पहिलो चरणको वार्ता करिब २१ घण्टा लामो भए पनि कुनै ठोस सहमति हुन सकेको थिएन। पछिल्लो प्रयास पाकिस्तानको मध्यस्थतामा शान्ति प्रक्रिया अघि बढाउने उद्देश्यले गरिएको बताइएको छ।
वार्ता तयारीको क्रममा पाकिस्तानका सेना प्रमुख आसिम मुनीरले हालै तेहरान पुगेर अमेरिकी सन्देश इरान समक्ष पुर्याएको चर्चा पनि बाहिर आएको छ।
यसले दुई देशबीच संवादको सम्भावनालाई अझ बलियो बनाएको विश्लेषण गरिएको छ।
अब आगामी एक–दुई दिनभित्रै औपचारिक वार्ता सुरु हुन सक्ने अनुमान गरिएको छ।


विश्व खबर 




















