काठमाडौं- इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईको मृत्यु भएको दाबी गरिएको करिब दुई महिना बितिसक्दा पनि उनको अन्त्येष्टि अझै सम्पन्न नभएको विषय बाहिर आएको छ।
रिपोर्टअनुसार फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा उनको मृत्यु भएको भनिए पनि हालसम्म औपचारिक रूपमा अन्तिम संस्कार गरिएको छैन।
सुरुमा अन्त्येष्टिका लागि तयारी गरिएको भए पनि इजरायल र अमेरिकाबाट थप आक्रमणको चेतावनी आएपछि कार्यक्रम स्थगित भएको उल्लेख छ।
युद्धविरामपछि पनि ठूलो सार्वजनिक समारोहमा सुरक्षा जोखिम र व्यवस्थापन चुनौतीका कारण निर्णय लिन ढिलाइ भइरहेको बताइएको छ।
इरानी अधिकारीहरू ठूलो जनसमूह हुने सम्भावित कार्यक्रमबाट उत्पन्न हुन सक्ने अशान्ति र सुरक्षा चुनौतीलाई लिएर अझै छलफलमै रहेको रिपोर्टमा जनाइएको छ।
साथै, ठूलो स्तरको शोकसभा आयोजना गर्ने वातावरण अहिले तयार नभएको पनि उल्लेख गरिएको छ।
विशेषज्ञहरूको भनाइअनुसार यसअघि सन् १९८९ मा पहिलो सर्वोच्च नेता रुहोल्लाह खामेनेईको निधनपछि ठूलो राष्ट्रिय अन्त्येष्टि गरिएको थियो, जसमा लाखौँ मानिस सहभागी भएका थिए।
तर, अहिलेको अवस्थामा त्यस्तो ठूलो सहभागिता र सार्वजनिक वातावरण देखिन कठिन रहेको विश्लेषण गरिएको छ।
इरानभित्र खामेनेईको अन्त्येष्टि कहाँ र कसरी गर्ने भन्ने विषय अझै अनिश्चित रहेको र सुरक्षा व्यवस्था मिलाउन विभिन्न विकल्पहरूबारे छलफल जारी रहेको बताइएको छ।


विश्व खबर 




















