कियभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी तेलमाथि लगाइएको प्रतिबन्ध आंशिक रूपमा खुकुलो बनाइएपछि त्यसले रूसलाई युद्धका लागि ठूलो आर्थिक स्रोत उपलब्ध गराउने चेतावनी दिएका छन् ।
उनले यस्तो निर्णयले युक्रेनमाथि भइरहेका आक्रमणलाई थप तीव्र बनाउने जोखिम रहेको बताए ।
सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै जेलेन्स्कीले रूसी तेल खरिदमा खर्च हुने प्रत्येक डलर युद्धकै लागि प्रयोग भइरहेको उल्लेख गरे ।
उनका अनुसार यस्तो आर्थिक प्रवाहले युक्रेनमा भइरहेको विनाशकारी आक्रमणलाई प्रत्यक्ष सहयोग पुर्याइरहेको छ ।
यद्यपि उनले स्पष्ट रूपमा नाम नलिएको भए पनि अमेरिकी प्रशासनले हालै रूसी तेल निर्यातसम्बन्धी प्रतिबन्धमा दिएको अस्थायी छुटतर्फ उहाँको सङ्केत रहेको बुझिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले शुक्रबार रूसी तेल तथा पेट्रोलियम पदार्थलाई समुद्रमार्फत बिक्री गर्न अनुमति दिने गरी एक महिनाका लागि छुट विस्तार गरेको थियो ।
यो कदम मुख्यतः मध्यपूर्व युद्धका कारण बढेको ऊर्जा मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले चालिएको बताइएको छ ।
तर, यसअघि अमेरिकी अर्थ मन्त्रालयले यस्तो छुट नवीकरण नहुने सङ्केत दिएको केही दिनमै निर्णय उल्टिएको देखिएको छ ।
जेलेन्स्कीका अनुसार हाल समुद्रमा ११० भन्दा बढी रूसी ट्याङ्करहरू अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लङ्घन गर्दै कच्चा तेल बोकेर हिँडिरहेका छन्, जसमा एक करोड २० लाख टनभन्दा बढी तेल रहेको अनुमान छ ।
उनले प्रतिबन्ध खुकुलो पारिएकाले यी स्रोतहरू सजिलै बिक्री हुन सक्ने र त्यसबाट करिब १० अर्ब डलर आम्दानी हुने दाबी गरे, जुन रकम प्रत्यक्ष रूपमा युक्रेनविरुद्धको आक्रमणमा प्रयोग हुन सक्ने उनको भनाइ छ ।
उनले पछिल्लो एक सातामा मात्र रुसले दुई हजार ३६० भन्दा बढी आक्रमणकारी ड्रोन, एक हजार ३२० भन्दा बढी निर्देशित हवाई बम र करिब ६० मिसाइल युक्रेनी सहरहरूमा प्रहार गरेको जानकारी दिए ।
यसले युद्धको तीव्रता अझै घट्न नसकेको स्पष्ट पारेको छ ।


विश्व खबर 




















