बाँके- बाँकेको गुलरिया-७, वन डिभिजन कार्यालय नजिक आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको तीव्र गतिको एम्बुलेन्सले सडक पार गर्दै गरेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
दुर्घटनामा ५२ वर्षीय भूमि लामिछाने र उनका ५ वर्षीय नाति रिहान्स खरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मृतक लामिछाने योग गुरु भएको समेत बताइएको छ।
त्यस्तै, लामिछानेकी पत्नी सीता लामिछाने र स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। उनीहरूको नेपालगञ्ज शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बिहान योग अभ्यासका लागि आयुर्वेद अस्पतालतर्फ जाँदै गर्दा सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको एम्बुलेन्सले उनीहरूलाई ठक्कर दिएको हो।
प्रतिक्रिया दिनुहोस्






















