काठमाडौं- ऊर्जा संकट चुलिँदै गएपछि अमेरिकाले रुसबाट तेल खरिदमा लगाइएको प्रतिबन्ध पुनः अस्थायी रूपमा हटाएको छ। इरानसँगको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन अभाव र मूल्यवृद्धि तीव्र भएपछि यस्तो निर्णय लिइएको जनाइएको छ।
यसअघि समुद्री मार्गमा रहेका रुसका तेल ट्यांकर खरिद गर्न अमेरिकाले अप्रिल ११ सम्मको समयसीमा दिएको थियो। पछिल्लो निर्णयअनुसार उक्त प्रतिबन्ध थप एक महिनाका लागि खुकुलो पारिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
अमेरिकी सहयोगी राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको दबाबपछि ट्रम्प प्रशासनले नीतिमा लचकता अपनाएको बताइएको छ। विशेषगरी युरोपेली युनियनका देशहरूले आफ्नो भण्डारमा करिब ६ हप्ताका लागि मात्र हवाई इन्धन बाँकी रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
इन्धनको तीव्र मूल्यवृद्धिले विश्वव्यापी आर्थिक तथा आपूर्ति संकट निम्त्याउने जोखिम बढेको उल्लेख गर्दै विभिन्न राष्ट्रहरूले प्रतिबन्ध हटाउन आग्रह गरेका थिए। सोही पृष्ठभूमिमा अमेरिका अस्थायी रूपमा पछाडि हटेको विश्लेषण गरिएको छ।
यो निर्णयले छोटो अवधिमा ऊर्जा बजारमा केही राहत दिने अपेक्षा गरिएको छ, तर दीर्घकालीन प्रभाव भने अझै अनिश्चित देखिएको छ।


विश्व खबर 




















