images
images
  • भ्रष्टाचार आरोपमा मुछिएका महानिर्देशककै प्रभावमा छानबिन समिति गठन, प्रधानमन्त्री असन्तुष्ट

    काठमाडौं– औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई छानबिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएपछि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई दिइएको छ । खड्गी १० औं तहकी कनिष्ठ कर्मचारी हुन् ।

    खड्गीलाई ढकाल निकट मानिन्छ । ढकाल महानिर्देशक रहँदा उनी विभागको महत्वपूर्ण महाशाखा प्रमुखको जिम्मेवारीमा थिइन् । स्रोतका अनुसार औषधिको मूल्य निर्धारणसम्बन्धी विवादास्पद निर्णय र असुली प्रकरणसँग उनको नाम पनि जोडिएको छ ।

    कानूनविपरीत औषधिको मूल्य निर्धारण गरेको आरोप लागेपछि स्वास्थ्यमन्त्री निशा मेहताले ढकाललाई गत चैत २७ गते मन्त्रालय तानेकी थिइन् । तर, सोही प्रकरणको छानबिन भइरहँदा ढकाल निकट खड्गीलाई नै निमित्त महानिर्देशक बनाइएको निर्णयले थप विवाद उत्पन्न गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले ढकालकै सिफारिसमा खड्गीलाई जिम्मेवारी दिएको आरोप लागिरहेको छ । विभागमा ११ औं तहका वरिष्ठ भरत भट्टराई र अन्य अनुभवी कर्मचारी हुँदाहुँदै कनिष्ठ कर्मचारीलाई गुपचुप रूपमा जिम्मेवारी दिइएको हो ।

    ढकाललाई मन्त्रालय तानेकै दिनको मिति राखेर खड्गीलाई बैशाख २ गते मात्र नियुक्तिपत्र दिइएको तथ्य बाहिरिएको छ । उक्त निर्णय केही दिनसम्म गोप्य राखिएको थियो ।

    यसैबीच, स्वास्थ्यमन्त्री मेहताले छानबिन समितिको गठनसमेत विवादास्पद ढंगले गरेको आरोप छ । प्रधानमन्त्री कार्यालयबाट निष्पक्ष छानबिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा समिति बनाउन निर्देशन दिइएको थियो । तर मन्त्री मेहताले स्वास्थ्य मन्त्रालयकै अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेकी छन् ।

    समितिमा कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विज्ञका रूपमा कविन्द्र मलेकु रहेका छन् । स्रोतका अनुसार यी तीनै जना ढकाल निकट मानिन्छन्, जसका कारण छानबिनको निष्पक्षतामाथि प्रश्न उठेको छ ।

    यस प्रकरणले प्रधानमन्त्री वालेन्द्र शाह असन्तुष्ट बनेका छन् । मन्त्रालयको निर्णय प्रक्रियामाथि नै प्रश्न उठ्न थालेपछि सरकारभित्रै चर्को बहस सुरु भएको छ ।

    यसअघि श्रममन्त्री दीपककुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति गरिएको विषयमा समेत विवाद भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराएको थियो । पार्टी सभापति रवि लामिछानेले लिखित रूपमा आगामी दिनमा यस्ता निर्णय नदोहोर्‍याउन आग्रह गरेका थिए ।

    तर पछिल्लो निर्णयहरूले मन्त्री मेहताले सो चेतावनीलाई बेवास्ता गरेको आरोप लाग्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images