काठमाडौं– संघीय संसद्अन्तर्गतका संसदीय समितिहरूले पूर्णता पाएका छन् ।
शुक्रबार १२ वटा समितिमा सभापति चयन भएसँगै सबै समितिहरूले नेतृत्व पाएका हुन् ।
१० समितिमा सभापति सर्वसम्मत चयन भए भने दुई समितिमा निर्वाचन भएको थियो ।
राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भए ।
यस्तै कृषि, पूर्वाधार, महिला, संसदीय सुनुवाइ, उद्योग–वाणिज्य, अन्तर्राष्ट्रिय सम्बन्ध तथा अर्थ समितिहरूमा पनि अधिकांशतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू निर्वाचित भए ।
सार्वजनिक लेखा समिति सभापतिमा भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस का भरत खड्का सर्वसम्मत चयन भए ।
बाँकी दुई समितिमा भने प्रतिस्पर्धा भएको थियो ।
राज्यका निर्देशक सिद्धान्तसम्बन्धी समितिमा गणेश कार्की र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचन निर्वाचित भए ।






















