काठमाडौं– साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.३६ अंकले बढेर २८३८ अंकमा पुगेको छ।
दिउँसो १२:२२ बजे २८०९ अंकसम्म झरेको बजार अन्तिम समयमा उकालो लागेको हो।
अघिल्लो दिन ३३ अंकले घटेको बजारमा आज कारोबार रकम पनि घट्दै ७ अर्ब ४६ करोडमा सीमित रह्यो (अघिल्लो दिन ९ अर्ब ३१ करोड थियो)।
सूचक बढे पनि अधिकांश कम्पनीको मूल्य घटेको छ, १०८ कम्पनी बढ्दा १५० घटे र १२ स्थिर रहे।
ठूला पूँजीका कम्पनीको मूल्य बढ्दा समग्र सूचक उकालो लागेको हो।
समूहगत रूपमा उत्पादन तथा प्रशोधन १.४०% ले सबैभन्दा धेरै बढ्यो। होटल तथा पर्यटन (१.३८%), हाइड्रोपावर (०.६७%), अन्य (०.५६%) र व्यापार (०.०३%) पनि बढे। बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, बीमा र माइक्रोफाइनान्स समूह भने सामान्य गिरावटमा रहे।
आज पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो र शिखर पावरको मूल्य १०% ले बढ्यो।
कारोबारका हिसाबले नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर, रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स र हिमाल दोलखा हाइड्रोपावर अगाडि रहे।