काठमाडौं- कुवेतमा भिसा तथा सिभिल आईडी रद्द भई स्वदेश फर्कन समस्या भोगिरहेका नेपाली नागरिकलाई साउदी अरेवियाको बाटो हुँदै नेपाल फर्कन ट्रान्जिट भिसा स्वीकृत गरिएको छ ।
कुवेतस्थित नेपाली राजदूतावासले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार कुवेतको हवाईक्षेत्र बन्द भएका कारण नेपाल फर्कन समस्या भएका, भिसा १ वा भिसा १४ लिएका तथा भिसा/सिभिल आईडी रद्द भएका नेपाली नागरिकहरूका लागि साउदी अरेविया हुँदै नेपाल फर्कन भिसा सहजीकरण गरिएको हो ।
राजदूतावासका अनुसार दूतावासमा आवेदन दिएका व्यक्तिहरूमध्ये संलग्न सूचीअनुसारका नेपाली नागरिकहरूको साउदी अरेवियाको ट्रान्जिट भिसा स्वीकृत भएको छ ।
ट्रान्जिट भिसाको अवधि सीमित हुने भएकाले स्वीकृत भएका नागरिकलाई यथाशीघ्र साउदी हुँदै नेपाल फर्कने प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।
विज्ञप्तिअनुसार कुवेतबाट यात्रा गर्ने यात्रुहरूलाई साउदीको नुवाइसिब वा साल्मी सीमा नाकामा ट्रान्जिट भिसा उपलब्ध हुनेछ ।
त्यस्तै, इराकबाट यात्रा गर्ने यात्रुहरूका हकमा सम्बन्धित इराक–साउदी सीमा नाकामा ट्रान्जिट भिसा उपलब्ध गराइने दूतावासले जनाएको छ ।
साथै, ट्रान्जिट भिसाको म्याद ७ दिनको हुने र २३ अप्रिल २०२६ भित्र साउदी अरेविया प्रवेश गरिसक्नुपर्नेछ ।
साउदी अरेविया प्रवेश गरेपछि भने ३ दिनभित्र साउदीबाट प्रस्थान गरिसक्नुपर्ने राजदूतावासले स्पष्ट पारेको छ ।
राजदूतावासले सम्बन्धित सबै नेपाली नागरिकलाई निर्धारित समयभित्र यात्रा प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।


विश्व खबर 




















