images
images
  • प्रचण्डले फेरे बोली : संसद् विघटन र निर्वाचन आफ्नो एजेन्डा नभएको गरे दाबी

    काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा जाने एजेन्डा आफ्नो नभएको जिकिर गरेका छन् ।

    भदौमा भएको जेनजी आन्दोलनको क्रममा धेरै मिहेनत गरेर संविधान बचाएको दाबी गर्दै आएका प्रचण्डले बोली फेरेका छन् ।

    केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले अघिल्ला अभिव्यक्ति सच्याएका हुन् ।

    बैठकमा जेनजी आन्दोलनपछि पार्टीको पक्षमा माहोल नहुँदा नहुँदै निर्वाचनमा किन गएको भनेर नेतृत्वको आलोचना भएको थियो ।

    फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपाले जम्मा १७ सिट जितेको छ । पार्टीको प्रमुख नेतामध्ये प्रचण्ड र वर्षमान पुनले मात्र जितेका थिए ।

    प्रचण्डले पहिलेका अभिव्यक्ति सच्याउँदै आफ्नो कारण नभई राष्ट्रिपति रामचन्द्र पौडेलका कारण निर्वाचनमा जान बाध्य भएको बताएका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

    ‘निर्वाचनमा जाने हाम्रो चाहना थिएन । संसद् विघटन पनि हाम्रो कारणले भएको होइन । राष्ट्रपतिले समस्याको निकास निकाल्न संसद् विघटन गरी निर्वाचनमा जाउँ भनेर प्रस्ताव गरेपछि बाध्य भएर समर्थन गरेको हो भन्नुभयो,’ पौडेलले भने ।

    बैठकमा प्रचण्डले पार्टी रुपान्तरणसहित बृहत् वामपन्थी एकतासम्बन्धमा पनि धारणा राखेको उनले जानकारी दिए ।

    त्यसका लागि पहिला महाधिवेशनबाट पार्टीलाई बलियो बनाएर मात्र एकता र ध्रुवीकरण गर्नुपर्नेमा जोड दिएको पौडेलले बताए ।

    ‘अहिलेको परिस्थितिमा बृहत्त वामपन्थी एकता आवश्यक छ । त्यसका लागि पहिला पार्टी रुपान्तरण सहित बलियो बनाउन आवश्यक छ । सबै वामपन्थी शक्तिबिच बृहत्त एकता तथा ध्रुवीकरण आवश्यकबारे धारणा राख्नुभयो,’ पौडेलले भने ।

    बैठकमा प्रचण्डले १२ बुँदे पक्षधरबिच सहकार्य र मोर्चाबन्दी आवश्यक रहेको बताएका थिए ।

    सहसंयोजक माधव कुमार नेपालले पनि प्रचण्डको धारणालाई समर्थन गरेका थिए ।

    उनले वामपन्थी शक्तिहरूबिचको एकताको विषयमा हतारमा निर्णय गर्न नहुने धारणा राखेका थिए ।

    संयोजक र सहसंयोजकले धारणा राखेपछि बैठक स्थगित भएको पौडेलले जानकारी दिए ।

    पौडेलका अनुसार अर्को बैठक शनिबार ११ बजे बस्नेछ ।

    त्यस बैठकले नेताहरूको कार्यविभाजन, आगामी कार्यक्रमबारे निर्णय गर्ने उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images